३७ अर्बको माथिल्लो तामाकोशीलाई अर्को सफलता 

२०७५ बैशाख १५ शनिबार १६:३०:०० मा प्रकाशित

दोलखा । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सर्ज साफ्ट टनेलको ब्रेक थ्रु भएको छ । रेजबोरिङ मेशिनले सो सर्ज साफ्टको ब्रेक थ्रु गरेको हो । 

यसअघि ३७३ मिटर खण्डको भर्टिकल टनेल खन्न असफल भएको रेजबोरिङ मेशिनले यो पटक ७२ मिटर लम्बाइको सर्ज साफ्ट ब्रेक थ्रु गर्न सफल भएको हो । आयोजनाको भर्टिकल टनेल खन्न ल्याइएको रेजबोरिङ मेशिन ४÷५ पटकको प्रयासमा पनि असफल भएपछि माथिबाट तलतिर खन्दै जाने ‘डाउन द होल’ बिधिबाट ३७३ मिटरको एक खण्ड र ३१० मिटरको अर्को खण्ड भर्टिकल टनेल खन्ने काम सम्पन्न भैसकेको छ । 

रेजबोरिङ मेशिनले सर्जसाफ्टको मुखबाट मुख्य सुरुङसम्म १८ सेमी व्यासको ७२ मिटर लामो ‘पाइलट होल’ ब्रेक थ्रु गरेको हो । त्यसपछि मुख्य सुरुङदेखि सर्जसाफ्टको मुखसम्म १ दशमलब २ मिटरको प्वाल बनाउने काम सुरु भएको आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी  दिए । एक साताभित्र १८ सेमीको ‘पाइलट होल’ लाई १ दशमलव २ मिटर व्यासमा बृद्धि गरिने उनले बताए । जम्मा ३ दशमलव ८ मिटर व्यासको टनेल निर्माण गर्नुपर्नेमा एक महिनाभित्र सो काम सम्पन्न हुने पनि उनले बताए । 

कुनै कारणले पावर हाउस अचानक बन्द गर्नुपर्दा पानीको ‘प्रेसर रिलिज’ गर्न सर्ज साफ्ट अनिवार्य आवश्यक हुन्छ । रेजबोरिङ मेशिनले सर्ज साफ्टको ‘पाइलट होल’ मा सफलता प्राप्त गरे पनि भर्टिकल टनेलको काममा अपेक्षित प्रगति हुन सकेको छैन । ३७३ मिटर र ३१० मिटरको भर्टिकल टनेल ब्रेक थ्रु भएको धेरै समय भए पनि त्यसमा पेनस्टक पाइप राख्ने काम सुरु हुन सकेको छैन । पेनस्टक पाइप ढुवानी गर्ने काम समेत सकिएको छैन । 

हाइड्रोमेकानिकल अन्तर्गतको सामान (पेनस्टक पाइप) ढुवानीमा भएको ढिलाइ र स्थानीयबासी तथा आम नागरिकका लागि छुट्टयाइएको शेयर संकलनमा भएको ढिलाइका कारण आयोजनाको निर्माणमा ढिलाइ भैरहेको छ । 

राष्ट्र बैंकमा डलर सटहीको समस्या, खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तारमा सडक विभागले गरेको ढिलाइका कारण ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वेको कमजोर व्यवस्थापनका कारण पेनस्टक पाइप ढुवानी तथा जडान ढिलाइ भएको आयोजनाले जनाएको छ ।

तर आयोजनाको सिभिल, इलेक्ट्रिोमेकानिकल र प्रसारण लाइनको काम समय तालिका अनुसारै भएको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए । 

संशोधित कार्यतालिका अनुसार आगामी असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको भए पनि आउँदो चैत मसान्तसम्म विद्युत उत्पादन गर्न सकिने आयोजनाका एक अधिकारीले बताए । 

४५६ मेगावाट क्षमताको आयोजनाको हालसम्म ९५ प्रतिशत काम पूरा भएको छ । ३५ अर्ब २९ करोड सुरु लागत भएको आयोजनामा हालसम्म ३७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजना ढिलाई हुँदा लागत बढेर ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । 
 

ताजा खबर