ठुलो संख्यामा पर्वतारोहीहरु सगरमाथा चढ्दै

२०७५ बैशाख १४ शुक्रबार १२:१६:०० मा प्रकाशित

सरल संवाददाता
काठमाडौं, १४ वैखाश । यस सिजनमा ठुलो संख्यामा पर्वतारोहीहरुले स्वीकृती पाएसँगै विश्वको सर्वोच्च शिखरमा भिडभाड हुने पक्का भएको छ ।

यो सिजनको लागि साहसिक यात्रामा रमाउने ३४६ पर्वतारोहीहरुले स्वीकृत पाएसँगै धेरैले सगरमाथाको वातावरणसँग अभ्यस्त हुन आधार शिविर गइसकेका छन् ।
अघिल्लो वर्ष ३७३ जनाले सगरमाथा चढ्ने अनुमति पाएका थिए ।

जोखिम बढ्यो
३४६ जना पर्वतारोहीले सगरमाथा चढ्ने स्वीकृती पाएपनि गाइड र भरिया सहित ७०० भन्दा बढिले सगमाथा चढ्ने हुँदा अनुभव बिहिन आरोहीहरु समस्यामा पर्नसक्ने जोखिम बढेको छ ।

सगरमाथा आरोहणको लागि मौसम अनुकुल भएपनि कुनै समस्या परेमा छोटो समयमा ठुलो संख्यामा पर्वतारोहीको उद्धार गर्न कठिनाइ हुने यस क्षेत्रमा लागेका व्यक्तिहरु बताउँछन् ।

तिब्बतको बाटो हुँदै १८० जना सगरमाथा आउँदै
सगरमाथा आरोहणको लागि थप १८० जना तिब्बतको बाटो हुँदै आउनको लागि स्वीकृती पाइसकेको छ । वर्षेनी तिब्बतको बाटो हुँदै सगरमाथा आउनेको संख्या पनि उल्लेख्य हुने गरेको छ ।

राजस्वमा सहयोगी
विश्वको सर्वोच्च शिखरको आरोहणको स्वीकृती पाउन विदेशीले प्रतिव्यक्ति ११ हजार डलर तिर्नुपर्ने नियम रहेको छ । सन् २०१७ मा ४० लाख डलर स्वीकृती दिए वापत् नेपाललाई राजस्व प्राप्त भएको थियो ।

 

ताजा खबर