पर्यटन परिषद् बैठक अझै बसेन

२०७४ असार १२ सोमबार ०८:४४:०० मा प्रकाशित

काठमाडौँ, १२ असार । समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन ।  मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकास किन प्रभावकारी भएको छैन भन्ने दृष्टान्त परिषद्को अवस्थाले झल्काउँछ । 

सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका बढाउन भन्दै प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय परिषद् गठन गरेको थियो ।  प्रधानमन्त्री अध्यक्ष र पर्यटन मन्त्री उपाध्यक्षसहित २० वटा मन्त्रालयका मन्त्रीहरु, सचिवहरु सदस्य रहने परिषद पर्यटन व्यवसायीसँग सम्बन्धीत सङ्घ संस्थाका प्रतिनिधि र लब्ध प्रतिष्ठित व्यक्तिसमेत सदस्य रहेका छन् । 

सरकारले आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा पछि पर्यटनलाई महत्वपूर्ण क्षेत्र भने पनि यसलाई प्राथमिकता नदिएका कारण अथाह सम्भावनाकाबीच पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको यस क्षेत्रका जानकार बताउँछन् । 

चाँडो मन्त्री फेरिने, मन्त्री फेरिएसँगै सचिव पनि फेरबदल भइरहने प्रवृत्तिले पर्यटन विकासका योजना कार्यान्वयन प्रभावित बन्ने गरेका छन् । मन्त्री र सचिवले पर्यटन क्षेत्रको योजना कार्यक्रम बुझिनसक्दै फेरिने र सरुवा हुने बाध्यताले मन्त्रालयका कुनै पनि निकायका कामले प्रभावकारिता पाउन नसकेको मन्त्रालयका उच्च अधिकारी तथा विभागअन्तर्गतका कर्मचारी बताउँछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सकिएलगत्तै परिषद्को बैठक बस्ने गरी मन्त्रालयले योजना बनाएको बताए ।  पर्यटन नीति, २०६५ ले व्यवस्था गरेअनुसार प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्को पहिलो पटक तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा बैठक बसेको थियो । त्यसको ठीक पाँच वर्षपछि २०७२ फागुन २ गते परिषद्को दोस्रो बैठक बसेको थियो । 

पर्यटन नीति २०६५ अनुसार परिषद्सँग पर्यटनसम्बन्धी नीतिगत मार्गदर्शन गर्ने जिम्मेवारी रहेको छ । यसबाहेक पर्यटनसम्बन्धी योजना तथा विकासका कार्यको समीक्षा गर्ने र यस क्षेत्रमा आउने बाधा अड्चन फुकाउनसमेत भूमिका निर्वाह गर्छ ।  त्यस्तै व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका मुख्य सचिव, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष परिषद्मा पदेन सदस्य रहेका छन् । पर्यटन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ । रासस  

ताजा खबर