निजगढमा विमानस्थल निर्माणको काम अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

२०७९ जेठ १६ सोमबार १३:३०:०० मा प्रकाशित

काठमाडौं । संसदीय समितिले निजगढ विमानस्थल निर्माणको लागि कानुनी, प्रशासनिक र व्यवहारिक हड्चन हटाएर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित नदेखिने निष्कर्ष निकालेको हो ।

निर्णयमा भनिएको छ, ‘बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइसकेको अर्बौं रूपैयाँलाई निरर्थक तुल्याउँदा झनै् धक्का लाग्छ ।’

समिति सभापति पवित्रा निरौला खरेलले नेपालको अर्थतन्त्रलाई सबल बनाउने भएकाले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताइन् । उनले भनिन्, ’राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित देखिन्न ।’ केही दिनअघि सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण अघि नबढाउन आदेश दिएको थियो ।

 

ताजा खबर