ठूलो मूल्य चुकाएर ज्ञान पाएको छु, शंका नगर्नुहोस्ः प्रचण्ड

२०७९ बैशाख २२ बिहीबार १७:१३:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धनभित्र गरेको वाचा पूरा गर्ने भन्दै आफूलाई विश्वास गर्न आग्रह गरेका छन् । बिहीबार चितवनको भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई गठबन्धन भत्काउने होस् कि भन्ने आशंका गरिएको भन्दै आफूलाई विश्वास गर्न आग्रह गरेका हुन् ।

उनले आफूले ठूलो मूल्य चुकाएर ज्ञान पाएर आएको भन्दै शंका नगर्न आग्रह गरे । उनले भने, ‘मेले ज्ञान प्राप्त गरेँ भनेर त्यति बेला भनेको थिएँ । चितवनवासीसँग आग्रह गर्छु, मैले निकै ठूलो मूल्य चुकाएर ज्ञान पाएर आएको छु । ममाथि शंका नगर्नुहोस् ।’ उनले धेरै सोचविचार गरेर गठबन्धन निर्माण गरेको भन्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे ।

प्रचण्डले भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने चेतावनी दिए । रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने बताए ।

उनले भने,‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १५–२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ ।’

ताजा खबर