पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

२०७८ चैत १२ शनिबार १९:३६:०० मा प्रकाशित

काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई विमानस्थल हस्तान्तरण गरेका हुन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । विमानस्थल हस्तान्तरण समारोह भर्चुअल विधिबाट गरिएको थियो। सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा गएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेसन, फिनिसिङलगायत छन् ।

विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्यांगर, टर्मिनल भवन, ट्रान्सफर्मरलगायत १४ वटा भवनको निर्माण कार्य यसअघि नै सकिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो। उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

  

ताजा खबर