चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउँदै

२०७८ चैत ११ शुक्रबार ०७:५३:०० मा प्रकाशित

 । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ ।

नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको स्वागतको भव्य तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नेछ । नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन्  । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री खड्कासँग उनले द्विपक्षीय भेट गर्नेछन् ।

नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । तथापि जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने मन्त्रालयले जनाएको छ ।

यीबाहेक कोभिड–१९ महामारीपछिको आर्थिक पुनस्र्थापनाका साथै भविष्यमा आइपर्ने महामारीजन्य सङ्कटका लागि चीनले गर्नसक्ने थप सहयोगका विषयमा पनि एक खालको खाका मन्त्रालयले बनाएको छ । त्यसमा नेपालमा थप लगानीको अवसरका विविध क्षेत्रलाई खुट्याएर सरकारका तर्फबाट द्विपक्षीय वार्तामा अघि सारिने भएको छ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्नेछन् ।

ताजा खबर