एमसीसी संसदबाट नै टुंग्याउनु उपयुक्त हुन्छः प्रवक्ता महत

२०७८ माघ २७ बिहीबार १७:४७:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एमसीसीलाई अन्योल बनाउन नहुने र संसदलाई निर्णय गर्न दिनुपर्ने निष्कर्ष निकालेको हो । अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति शेरबहादुर देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई अघि बढाउने कुरामा पार्टीको विमति नरहेको र सरकार त्यसमा लागिरहेको बताए । उनले भने,‘संसद् नै सर्वोच्च निकाय भएकाले जनताका प्रतिनिधिले गुण र दोषको आधारमा निर्णय गर्नुहोला । यो विषय अन्योलमा राखिनुहुँदैन। यो विषयलाई धेरै लम्ब्याउनु उपयुक्त हुन्न। संसद्बाट नै टुंग्याउनु उपयुक्त हुन्छ । यसलाई संसदमा प्रवेश पनि नगराउने अनि यसमा के छ भनेर भ्रमको खेती गराउने काम भएको छ।’

संसदमा छलफल भए ठूलो बहुमतका साथ पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । उनले बैठकमा एमसीसीको प्रक्रिया अघि बढाउन अरु दलहरुबीच सहमति जुटाउन लाग्ने विषयमा सबैको समान धारणा रहेको बताए ।

उनले एमसीसी अघि बढाउने सन्दर्भमा अन्य सत्तारुढ दलको पनि विमति नरहने बताए । उनले भने,‘प्रचण्डजीको पत्र सार्वजनिक भएकै छ । माधव नेपालले पनि यो हुनुहुँदैन भन्नुभएको छैन। सभामुखले म यो गराउँछु, यो गराउँदिन भनेर भन्न मिल्दैन। त्यो विषय प्रवेश उहाँले गराउनुपर्छ ।’

 

ताजा खबर