रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी

२०७८ माघ २५ मंगलबार ०८:३७:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा उनले नर्ड स्ट्रीम टू पाइपलाईन बन्द गरिदिने चेतावनी दिएका हुन् । फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन् ।

अमेरिकी अधिकारीहरूले आइतबार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन् । पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ ।

उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ । नेटोले ती दुवै मागलाई अस्विकार गरेको छ । बरु उसले आणविक अस्त्र सीमित पार्नेजस्ता अन्य क्षेत्रमा वार्ता गर्न सकिने जनाएको छ । पुटिनले युक्रेन मामिलालाई लिएर फ्रेन्च राष्ट्रपति इमानुअल माँक्रोसँग भएको वार्ता उपयोगी र उपलब्धी उन्मुख भएको बताएका छन्।

 

 

ताजा खबर