कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा कडाइ, विद्यालय, सिनेमाघर बन्द

२०७८ पौष १३ मंगलबार २१:०४:०० मा प्रकाशित

भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि ’येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो ।

लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । दिल्लीका मुख्यमन्त्री केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भएपनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् ।

दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ । यस्तो चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ । दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन् ।

विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले जनाएका छन् । दिल्लीको मेट्रो रेल, रेस्टुराँ र बारलाई तिनको क्षमताको ५० प्रतिशत मानिस मात्रै रहनेगरी सञ्चालन गर्न दिइएको छ । सरकारले प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दिल्लीमा ३३१ जनामा कोभिड पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।

ताजा खबर