प्रदेश दुइः निधिलाई धक्का, देउवाको पक्का

२०७८ पौष ९ शुक्रबार १३:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका तीन महत्वपूर्ण नेताहरुको राजनीतिक भिडन्तमा सभापति शेरबहादुर देउवाले जितेका छन् । उनीसँग भिडेका नेताहरु शेखर कोइराला र विमलेन्द्र निधिको सहकार्य असफल भएको छ । प्रदेश दुइ नेता निधिको गृह जिल्ला जनकपुर समेत रहेको महत्वपूर्ण क्षेत्र हो भने नेता कोइराला पनि त्यस क्षेत्रमा चलखेल गर्न सक्ने मानिन्थे । तर सभापति देउवाको रापतापसँग यी दुइ नेताको संयुक्त शक्ति पराजित हुनपुगेको छ । परिणामत यो प्रदेशको पहिलो अधिवेशनमा देउवाको आशिर्वाद प्राप्त कृष्ण यादव सभापतिमा निर्वाचित भएका छन् ।

राजनीतिमा को कतिबेला आफ्नो हुन्छ को पराया अनुमान गर्न सकिँदैन । यस्तै भयो प्रदेशको दुइको निर्वाचनमा । नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा नेता कोइरालालाई रोक्न नेता निधिले सभापति देउवालाई सहयोग गरेका थिए । उनीसँग अर्का नेता प्रकाशमान सिंह पनि देउवाकै पक्षमा खुलेका थिए । यी दुइ नेताको सक्रियतामा देउवा दोस्रो चरणको निर्वाचनमा सभापति चुनिएका थिए । तर प्रदेश दुइमा यो समीकरणमा फेरबदल भयो । कोइरालाको साथ लिएर निधि सभापति देउवाको विपक्षमा सक्रिय भए र राम सरोज यादवलाई सहयोग गर्न सकेको बल लगाएर चुनावी मैदानमा उत्रिए । कोइराला पनि उसैगरी निधिको साथमा उभिए ।

आफैं सभापतिको उम्मेदवार भएर मत माग्दै हिँडेका निधि महाधिवेशनको दोस्रो चरणको मतदानमा देउवाको समर्थनमा सक्रिय भएपछि महाधिवेशन प्रतिनिधिहरु उनीसँग हच्किएको चर्चा चलेको थियो । देउवालाई पार्टीको नेतृत्वबाट विदा गर्ने उद्घोष गरेर प्रकाशमान र शशांक कोइरालासँग सहकार्यको रणनीति बनाएका निधिको पछिल्लो कदमले उनीमाथिको विश्वासलाई शंकाको घेरामा पारेको भन्दै प्रतिनिधिहरु सतर्क बनेको बताईन्छ । यिनै पछिल्ला गतिविधिले सशंकित बनेका स्थानीय नेता कार्यकर्ताले निधिलाई सबक सिकाउन पनि देउवाको समर्थन पाएका कृष्ण यादवलाई मत दिएको बुझिएको छ । 

नेता निधिको पुस्तैनी राजनीतिक मैदान मानिएको धनुषामा उनको प्रभाव खस्किँदै गएको थियो । पिता महेन्द्रनारायण निधिको अवशान पछि पुत्र निधिले विगतको राजनीतिक प्रभाव धान्न नसकेको भन्दै आलोचना हुने गरेको थियो । यस्तै अरु पनि कारणहरुले प्रदेश दुइ क्षेत्रमा नेपाली कांग्रेसको पकड कमजोर हुँदै गएको विश्लेषण गरिएको थियो ।

हुनसक्छ यही विश्लेषणका आधारमा सभापति देउवाले आफ्नै विश्वासपात्रलाई प्रदेशको सभापति चुनेर त्यहाँ पार्टीको खस्किएको प्रभावमा सुधार गर्न चाहे । यही उदेश्य पूरा गर्न देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई दलबल सहित जनकपुर उतारे । गृहमन्त्री खाँडले पनि पार्टी र सरकारको प्रभावको प्रचूर उपयोग गरेर सभापति देउवाको उदेश्य साकार पार्न कुनै कसर छोडेनन् । अन्तत सभापति देउवाको रणनीति सफल भएरै छाड्यो ।

राम सरोज यादव प्रदेश दुइ संसदीय दलका नेता हुन् । उनी नेपाली कांग्रेसका पुराना र लोकप्रिय नेताकै गणनामा पर्ने व्यक्ति हुन् । तर स्थानीय शक्ति संघर्षको कोपभाजनमा परेका यी नेताले निधि र कोइरालाको साथबाट सफलता हात पार्न असफल  भए ।

सभापतिमा निर्वाचित कृष्णले ९९६ मत पाए भने रामसरोजले ८५५ मत प्राप्त गरेका छन् । प्रदेश दुइको निर्वाचनमा १८८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

ताजा खबर