राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध

२०७८ पौष ५ सोमबार १३:५६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए ।

प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे ।

एमालेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए । त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको अध्यक्ष तिमिल्सनाले जानकारी गराएका थिए ।
 

ताजा खबर