क्रिसमसका बेला हुने यात्राले ओमिक्रोन फैलाउने अमेरिकी विज्ञको चेतावनी

२०७८ पौष ५ सोमबार ०८:५४:०० मा प्रकाशित

अमेरिकी सङ्क्रामक रोग विज्ञले क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने बताएका छन् ।

अमेरिकी संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले ओमिक्रोनमा फैलन सक्ने असाधारण क्षमता रहेको बताएका हुन् । कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्दैछन् । युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ ।

अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन् । फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन् ।

फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए । उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह गरेका छन् ।

उनले खोप नलगाएका मानिसहरू सङ्क्रमणको उच्च जोखिममा रहेका र अस्पताल भर्ना गर्नुपर्ने सम्भावना धेरै रहने बताएका थिए । अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ । त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन् ।

ताजा खबर