अफ्रिकी नागरिकको यात्रा प्रतिबन्ध तत्काल हटाउन राष्ट्रपति रामापोसाको माग

२०७८ मङ्सिर १३ सोमबार १०:३२:०० मा प्रकाशित

दक्षिण अफ्रिकी राष्ट्रपतिले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् । राष्ट्रपति सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् । उनले यसका कारण आफू निराश भएको पनि बताएका छन् ।

दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन् । प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ । अति उत्परिवर्तित यो भेरिएन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो ।

दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिएन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ । डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा जोखिम र वैज्ञानिक आधार हेर्नुपर्ने बताएको छ ।

रामापोसाले यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताएका छन् । उनले नयाँ भेरिएन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरू प्रभावकारी नहुने तर्क पनि गरेका छन् ।

ओमिक्रोन भेरिएन्टले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थालाई व्याख्या गर्दै रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिएन्टहरू टार्न नसकिने बताएका छन् । दक्षिण अफ्रिका आफैँमा खोपको अभाव छैन र रामापोसाले थप मानिसहरूलाई खोप लगाउन आह्वान गरेका छन्। उनले भाइरसविरुद्ध लड्ने यो नै उत्तम तरिका भएको पनि बताए ।

ताजा खबर