बेलायतमा कोभिड संक्रमितको संख्या एक करोड नजिक

२०७८ मङ्सिर ७ मंगलबार २०:२३:०० मा प्रकाशित

बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकैदिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् ।

उनीहरुकाअनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला दिनहरुमा ४० हजारको हाराहारीमा यी सङ्क्रमित भेटिएको थियो ।

तर सोमबार भने यसमा बृद्धि भएको हो । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ९९ लाख पुगेको छ । बेलायतमा सोमबार मात्र ४५ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा खबर