बलात्कारपछि महिलाको हत्या गरी फरार भएका दुई अभियुक्त पक्राउ

२०७८ मङ्सिर २ बिहीबार २१:४५:०० मा प्रकाशित

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् । बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन् बिग्रिए पछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो ।

मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ ।

ताजा खबर