टि-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमानै नेपालको शानदार जित

२०७८ कार्तिक ३० मंगलबार २३:४७:०० मा प्रकाशित

काठमाडौं । नेपाली महिला टिमले टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमानै शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनको भारी अन्तरले पराजित गर्दा इन्दु बर्माले कीर्तिमानी पारी खेलिन् ।

दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । टिमको स्कोर ८ रन हुँदा ओपनर काजल श्रेष्ठ आउट भएकी थिइन् ।

उनी ३ रनको व्यक्तिगत स्कोरमा एंगेलिन मेरको वलमा क्याच आउट भइन् । दोस्रो विकेटका लागि इन्दु र सीता राना मगरले  ८८ रनको साझेदारी गरे ।  ओपनर सीता ३३ वलमा ३९ रन बनाउदै मैदान बाहिरिन् ।

उनले पाँच चौका प्रहार गरेकी थिइन् । इन्दुले ४७ वलमा ५५ रनको योगदान गरिन् । इन्दु  महिला टि ट्वान्टी आइमा नेपालका लागि अर्धशतक बनाउने पहिलो खेलाडी बनेकी छिन् । पाँच चौका हिर्काएकी उनी १७ ओभरमा रिटायर्ड हर्ट भएकी थिइन् ।

कप्तान रुविना क्षेत्री भने खाता खोल्न नपाउँदै रन आउट हुँदै पवेलियन फर्किइन् ।  सरिता मगर २१  र कविता कुँवर ८ रनमा अविजित रहिन् । जवाफमा कतार ११ ओभर ५ वलमा २७ रनमा अल आउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

खादिजा इम्तियाज र मेरले आठ आठ रन जोडे । केरी पुन सेटले ७ रन बनाइन् । सात खेलाडी शून्यमा आउट भए । रुविनाले तीन, कविता र सीताले २–२ तथा करुणा भन्डारीले एक विकेट लिए । रुविनाले तीनै विकेट १२ औं  ओभरमा लिएकी हुन् । नेपालले कतारसँग तीन खेलको सिरिजमा एक शून्यको अग्रता लिएको छ । विश्वकप छनोटको तयारी स्वरुप नेपाल र कतार बीच सिरिज भएको हो । विश्वकप छनोट खेल २२ नोभेम्बरदेखि युएइमा सुरु हुनेछ । 
साभारः drishyatv.com
 

ताजा खबर