आइपिएलमा मुम्बइद्वारा राजस्थान पराजित

२०७८ असोज २० बुधबार ११:२१:०० मा प्रकाशित

इन्डियन प्रिमियर लिगमा मुम्बइ इन्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । जितले साविक विजेता मुम्बइको प्ले अफ आशा जिवितै राखेको छ । राजस्थानले दिएको ९१ रनको झिनो लक्ष्य मुम्बइले ८ दशमबल २ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पुरा गरेको थियो । टिमको स्कोर २३ रन हुदा कप्तान रोहित शर्मा आउट भएका थिए । ओपनर रोहित २२ रनमा मैदान बाहिरिए  ।

तर इशान किशनले अविजित ५० रनको पारी खेल्दै मुम्बइलाई सहज जित दिलाए । किशनले २५ वल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । सुर्य कुमार यादवले १३ रन बनाए । हार्दिक पान्डेया ५ रनमा अन्तिम समयसम्म क्रिजमा रहे । मुस्ताफिजुर रहमान र चेतन शाकरियाले १–१ विकेट लिए । यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको राजस्थानको पारी २० ओभरमा नौ विकेटको क्षतिमा ९० रनमा समेटिएको थियो ।

मुम्बइले धारिलो वलिङ गर्दा राजस्थानका मात्र चार ब्याट्सम्यानले दोहोरो रन छुन सके ।  इभिन लेविसले सर्वाधिक २४, डेविड मिल्लरले १५, यस्सभी जैसवाल र  राहुल ट्वेटाले १२–१२ रन जोडे । संजु सामसन ३, शिभम दुबे ३, ग्लेन फिलिप्स ४, चेतन ६ रनमा पवेलियन फर्किए । दुइ खेलाडीले खाता खोल्न सकेनन् । मुस्ताफिजुर ८ रनमा अविजित रहे । राजस्थानको पारीलाई धरासायी बनाउने क्रममा मुम्बइका नाथन कट्लर नाइलले ४ विकेट लिए ।

चार ओभरमा उनले केवल १४ रन खर्चिएका थिए । जेम्स निसमले ३ र जस्प्रित बुमराहले २ विकेट लिए । जीतपछि मुम्बइ १३ खेलबाट १२ अंक जोड्दै तालिकाको पांचौ स्थानमा छ । अब अर्को खेलमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाइ हराए मुम्बइ प्ले अफ पुग्नेछ । कोलकत्ताको पनि १३ खेलबाट १२ अंक्नै छ । रन रेटमा अघि रहदै चौथो स्थानमा छ ।  राजस्थानको भने प्ले अफ संभावना लगभर सकिएको छ ।  दिल्ली क्यापिटल्स, चेन्नाइ सुपर किंस र रोयल च्यालेन्जर्स बैङलोर प्ले अफ पुगिसकेका छन् ।   
 

ताजा खबर