अर्जेन्टिनाद्वारा भेनेजुएलामाथि शानदार जित

२०७८ भदौ १८ शुक्रबार १७:२८:०० मा प्रकाशित

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले भेनेजुएला माथि तीन एक गोलको शानदार जित हात पारेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाका लागि लौतारो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे । भेनेजुएलाको मैदानमा भएको खेलमा लियोनल मेसीले १२ औं मिनेटमानै अग्रता लिने मौका गुमाएका थिए । उनको प्रहार क्रसबारमा लागेर बाहिरियो । घरेलु टोली भेनेजुएला ३२  मिनेटमानै दश खेलाडीमा समेटिएको थियो  ।

सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका लुइस एड्रियन  मार्टिनेज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । २५ औं मिनेटमा  जोश भालाकेजको ठाउँ लिएका उनले मेसीलाई फाउल गरेका थिए । त्यसपछि अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण जमायो । पहिलो हाफको इन्जुरी समयमा लौतारो मार्टिनजेले डेड लक  तोडे । उनले जियोभानी लोल सेल्सोको पासमा गोल गरेपछि अर्जेन्टिना पहिलो हाफमा एक शून्यले अघि रह्यो ।

६८ औं मिनेटमा भेनेजुएलाका बराबरी गोल फर्काउने अवसरको सदुपयोग गर्न सकेन । ७१ औं मिनेटमा सब्सिच्युट वाकिन कोरेयाले अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा एन्जल कोयेराले गोल गरेपछि अर्जेन्टिनाले तीन शून्यको दुरी बनाएको थियो ।

इन्जुरी समयमा यफेरसन सोटेल्डोले पेनाल्टीमा सान्त्वना गोल फर्काए । अर्जेन्टिना पछिल्ला २१   खेल यता अपराजित छ ।  गत जुलाइ १० मा कोपा अमेरिकाको फाइनल यता लियोनल मेसीले पहिलो पटक पुरै समय मैदानमा विताए । उनले  नयाँ क्लब पिएसजीबाट डेब्यु गरेको खेलमा जम्मा २४ मिनेट खेलेका थिए ।

विश्वकप छनोटमा यसअघि भेनेजुएलाले १४ भेटमा अर्जेन्टिनालाई मात्र एक पटक पराजित गरेको थियो  । दक्षिण अ‍ेमरिकी क्षेत्रबाट अहिलेसम्म विश्वकको फाइनल चरण नपुगेको राष्ट्र भेनेजुएलानै हो । यो पटक पनि उसको संभावना न्युन बनेको छ । सात खेलबाट  चार अंक जोडेको भेनेजुएला तालिकाको दशौं स्थानमा छ । अर्जेन्टिना १५ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पाँचौं हुने टिमले प्ले अफ खेल्ने अवसर पाउनेछ । 
 

ताजा खबर