ब्रेस्ट माथि पिएसजीको चार दुई गोलको जित

२०७८ भदौ ५ शनिबार १०:१५:०० मा प्रकाशित

स्टार खेलाडी विना मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा ब्रेस्ट माथि चार दुई  गोलको जित हात पारेको छ । जारी लिगमा पिएसजीको यो लगातार तेस्रो जित हो । ब्रेस्टको मैदानमा भएको खेलमा पिएसजीले २३ औं मिनेटमा एन्डर हरेराको गोलमार्फत अग्रता लिएको थियो ।

३६ औं मिनेटमा किलियन एम्वाप्पेले हेडर गोल गरे । जारी सिजन एम्बाप्पेको यो पहिलो गोल हो । ४२ औं मिनेटमा ब्रेस्टका फ्राङकी ओनोगाले गोल गर्दै पिएसजी सँगको दुरी कम गर्ने प्रयास गरेका थिए । उनका लागि रोमेन फेभ्रीले आकर्षक क्रस उपलब्ध गराएका थिए ।

७३ औं मिनेटमा इड्रिसा गेले करिब ४० यार्ड बाट सुन्दर गोल गरेपछि पिएसजी तीन एकले अघि रह्यो । पिएसजीका लागि ७९ खेल खेलेका इड्रिसाको यो चौथो गोल हो । ८५ औं मिनेटमा ब्रेस्टका  स्टिभ मौनीले गोल गर्दै घरेलु समर्थकको आश जगाए ।

तर ९० औं मिनेटमा सब्सिच्युट एंजल डि मारियाले गोल गरेपछि माउरिसियो पोचेटिनोको टोली पिएसजीले चार दुईको जितका साथ तीन अंक बटुल्यो । डि मारिया ८१ औं मिनेटमा एम्बाप्पेको स्थानमा मैदान प्रवेश गरेका थिए । पिएसजी लियोनल मेसी र नेइमार विनानै मैदान उत्रिएको थियो ।

समर्थक बार्सीलोनाका पूर्वखेलाडी मेसीले पिएसजीबाट कहिले डेब्यु गर्छन् भन्ने प्रतिक्षामा छन् ।  खेल अघिको अभ्यास खेलमा मेसी, नेइमार  सहभागी भएपनि ब्रेस्ट विरुद्ध मैदानमा उत्रिएनन् । यस्तै यसै सिजन रियाल मड्रिडबाट गएका डिफेन्डर सर्जियो रामोसलेपनि  पिएसजीबाट अझै डेब्यु गरेका छैनन् ।

इटालीका लागि युरोकप जितेका गोलकिपर डोनारुम्मालाई भने बेन्चमा राखिएको थियो । उनी पनि पिएसजीबाट डेब्युको प्रतिक्षामा छन् ।  पोचेटिनाको टोली पिएसजीली जारी लिगमा तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंक जोडेको छ । 


 

ताजा खबर