फुटबल मुख्य प्रशिक्षक राजीनामा दिन चाहन्छन्, समस्या समाधान हुनेमा एन्फा ढुक्क

२०७८ श्रावण १० आइतबार २०:३३:०० मा प्रकाशित

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि नेपाली फुटवलमा तरंग पैदा भएको छ । अब्दुल्लाहले आज सामाजीक संजाल फेसबुक स्टाटस मार्फत समर्थकलाई सम्बोधन गर्दै राजीनामा दिने बताएका हुन् । उनले अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष पंकज नेम्वाङले आफुलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गरे ।

विगत तीन साता यता उपाध्यक्ष नेम्वाङले आफु समक्ष नाटक गरेको उनले स्टाटसमा लेखेका छन् । तर नेम्वाङले के नाटक गरे भन्नेबारे भने अब्दुल्लाहले प्रस्ट पारेका छैनन् । स्टाटस पोस्ट गरेपछि अब्दुललाह सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए । उनले राजीनामा भने नबुझाएको एन्फाले जानकारी दिएको छ । उपाध्यक्ष नेम्वाङले आफुमाथि लगाइएको आरोप झुटो भएको बताए । मेरो कारणले राजीनामा दिन लागेको भन्ने सुन्दा आश्चर्य लागेको उनको भनाइ थियो । उनले निष्पक्ष छानविनको माग पनि गरेका छन् ।

एन्फाले भोली वेलुका ५ बजेसम्म यस विषयमा टुंगो लगाउने जनाएको छ । अल्मुताइरी गत चैतमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनी एन्फा र कतार फुटवल संघको सहकार्यमा नेपाल आएका हुन् । उनलाई कतारले नै पारिश्रमिक दिँदै आएको छ । अहिले उनको एन्फासँग एक वर्षको सम्झौता छ । एन्फाले उनीसँग सम्झौता बढाउने विषयमा छलफल पनि गरिरहेको छ । उनको नेतृत्वमा नेपालले विश्वकप तथा एशिया कप छनोट र मैत्रीपूर्ण गरी चार खेल खेलेको छ । उनकै नेतृत्वमा नेपाल अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । अल्मुताइरीले नेपाली फुटवलमा परिवर्तन ल्याएको भन्दै प्रशंसा हुँदै आएको छ । नेपाली समर्थक बीच पनि उनी लोकप्रिय छन् । तर सामाजीक संजालमा अलि बढी नै एक्सपोज भएको भन्दै उनको आलोचना पनि हुने गरेको छ । अल्मुताइरीले फेसबुकमा स्टाटस लेखेर अब्याबसायिक ब्यबहार देखाएको भन्दै आलोचना पनि भइरहेको छ ।

ताजा खबर