युरोकप: एउटा खेल नखेली अन्तिम १६ मा पुग्यो बेल्जियम

२०७८ असार ४ शुक्रबार ०९:०७:०० मा प्रकाशित

काठमाडौं । बेल्जियम एक खेल अगावै समूह बीबाट युरोकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । गएराती भएको खेलमा बेल्जियमले डेनमार्कलाई दुइ एक गोलले पराजित गरेको हो । बेल्जियमको यो लगातार दोस्रो जीत हो ।

कोपेनहेगनको पार्केन स्टेडियममा डेनमार्क क्रिस्टियन एरिक्सनको घटना पछि पहिलो पटक मैदानमा उत्रिएको थियो । युरोको अघिल्लो खेलमा फिनल्यान्ड विरुद्ध स्ट्राइकर एरिक्सनलाई कार्डियक अरेस्ट आएको थियो । डेनिस टोलीका लागि यो खेल भावुक रह्यो । उसले खेल सुरु भएको ९९ सेकेन्डमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । युसुफ पुलसेनले गोल गरेका थिए । यो युरो इतिहासको दोस्रो छिटो भएको गोल पनि हो । सन् २००४ मा रुसका दिमत्री किरीचेन्कोले सर्वाधिक छिटो ६७ सेकेन्डमा ग्रिस विरुद्ध गोल गरेका थिए ।

खेल सुरु भएको दश मिनेटमा बेल्जियम टिमले वललाई मैदान बाहिर पठाउँदै एरिक्सन प्रति समर्पण गरेको थियो । दुवै टिमका खेलाडी, प्रशिक्षक, पदाधिकारी, रेफ्रि र मैदानमा उपस्थित २५ हजार समर्थकले त्यस अवसरमा ताली बजाएका थिए ।

पहिलो हाफमा वलियो टोली विरुद्ध डेनमार्क हाबी भयो । उसले गोलका अरु पनि अवसर सिर्जना गरेको थियो । तर दोब्बर बनाउन सकेन । दोस्रो हाफमा  बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर केभिन डि ब्रुयनालाई मैदान प्रवेश गराए । उनले चोटका कारण युरोको अघिल्लो खेल गुमाएका थिए । ब्रुयनाको प्रवेशसँगै बेल्जियमको खेलमा परिवर्तन आयो । डेनमार्क माथि फिफा वरियताको श्ीर्ष स्थानमा रहेको टोल्ी बेल्जियम दवाव बनायो ।

५४ औं मिनेटमा ब्रुयनाको पासमा थोर्गान हाजार्डले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । ७० औंं मिनेटमा ब्रुयना आफैंले इडेन हाजार्डको सहयोगमा गोल गरेपछि बेल्ज्यिम दुइ एकले विजयी भयो । युरोमा पहिलो गोल गरेका ब्रुयनाले खुशीयाली भने मनाएनन् । बेल्जियमले पहिलो खेलमा रुसलाई पराजित गरेको थियो । डेनमार्कको यो लगातार दोस्रो हार हो । यसअघि फिनल्यान्डसँग डेनमार्क एक शून्यले हारेको थियो । अब समूहको अन्तिम खेलमा बेल्जियमले फिनल्यान्ड र डेनमार्कले रुससँग खेल्नेछ । 

ताजा खबर