म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२०७७ माघ २८ बुधबार १२:४२:०० मा प्रकाशित

 म्यानचेस्टर युनाइटेड वेस्टह्यामलाई अतिरिक्त समयमा एक शून्य गोलले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराती  भएको खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो । ओले गुनार सोल्जाकरको टोलीले सुरुवातमै गोलका लागि पाएका मौकाको सदुपयोग गर्न नसक्दा जीतका लागि लामो समय कुर्नु पर्यो । ९७ औं मिनेटमा मार्कस र्यासफर्डको पासमा स्कट मेक्टोमिनीले युनाइटेडलाइ ब्रेकथ्रु दिलाएका थिए ।

 

र्यासफर्डको युनाइटेडका लागि यो दुइ सय ५० औं खेल हो । मेक्टोमिनीको सोही गोलको अन्तिम आठमा स्थान बनाउन निर्णायक बन्यो । प्रिमियर लिगको अघिल्लो खेलमा एभर्टनसंग तीन तीन गोलको बराबरीमा रोकिएपछि युनाइटेडका खेलाडी मानसिक रुपमा केही कमजोर देखिएका थिए ।  प्रशिक्षक  सोल्जाकरले वेस्टह्याम विरुद्ध उत्कृष्ट पुनरागमन गरेको प्रतिकृया दिए । एभर्टनले अन्तिम समयमा गोल फर्काएपछि कमजोर महसुस गरिरहेको समयमा राम्रो नतिजाको आवश्यक भएको र वेस्टह्याम विरुद्ध सोही सफलता हात पारेको उनको भनाइ थियो । कप्तान ह्यारी मग्वावेरले खेलाडीले आफ्नो क्षमता प्रस्तुत गरेको बताए । 

युनाइटेडले  लगातार सातौ सिजन एफ ए कपको क्वाटरफाइनल पुगेको हो । उसले सन २०१६ यता कुनैपनि प्रतियोगिताको उपाधी जित्न सकेको छैन ।  

ताजा खबर