आफ्नै मीतले पक्रिएर जेल पठाए 

२०७४ कार्तिक ३० बिहीबार ११:०५:०० मा प्रकाशित

मजदुर आन्दोलन चल्दै थियो । वार्ता हुने भएपछि अरू साथीलाई पहिला पठाएँ । सहमति भएपछि हस्ताक्षर गर्ने गरी म पनि जाँदै थिएँ । अवकाशप्राप्त सैनिक राजनीतिक रूपमा मेरो सुरक्षामा खटिएका थिए । उनी बलिया थिए । १० जनालाई हुत्याउन सक्ने । म भेष बदलेर हिँड्थेँ । 
अहिले तोप राख्ने ठाउँनजिक पुगेको थिएँ । ‘ए दाइ ! ए दाइ ! सुन्नू न सुन्नू’ भन्दै पद्मकन्या क्याम्पसको डे«स लगाएका दुई जना केटीले बोलाए । म रोकिएँ ।

केही काम परेर बोलाए होलान् भन्ठानेको थिएँ । उनीहरूले त च¥यापचुरुप मेरा दुवै हातको पाखुरा समातेर अठ्याए । 
सुरक्षा गार्डले के गर्ने भनेर सोधे ।

‘रोक रोक, यो आर्मी–पुलिस एरिया हो, केटीहरू छन्, यिनीहरूलाई केही गरे  मानिस झ्ुम्मिन्छन्’ भनेर सुरक्षागार्डलाई रोकेँ । फुत्त मीत लालबहादुर चौधरी पो अगाडि आउँछ । ऊसँग पाल्पामा पढ्दा मीत लगाएको थिएँ । मभन्दा केही मोटो थियो तर उचाइमा हामी उस्तै । 
‘बल्ल ठूलो सिकार फेला प¥यो । मेरो प्रमोसन पनि हुने भयो । अब तँलाई जाक्ने भएँ,’ छुटाउन आयो होला भन्ठानेको त मीत बाघले सिकार झ्म्टेझ्ैं गर्दै भन्छ ।

‘के भनेको ?’ मैले सोधेँ ।

‘म हवल्दार हुँ हवल्दार,’ उसले भन्यो ।

ऊ प्रहरीमा भर्ती भएको मैले थाहा पाएकै थिइनँ । महिला पुलिस हुन्छ भन्ने पनि थाहा थिएन । मलाई पक्रन पद्मकन्या क्याम्पसको पोसाकमा आएका रहेछन् उनीहरू ।

उनीहरूले मलाई हनुमानढोका लगे । त्यहाँ तीन–चार दिनसम्म यातना दिए ।

‘अब तँ जाक्किस् । के गर्ने मीत भए पनि थुन्नै प¥यो । प्रमोसन पाउनुप¥यो,’ त्यही मेरो मीत भनाउँदो चौधरीले भन्यो । 
साथीभाइ अझ् त्यसमा पनि मीत । सहयोग गर्नुपर्नेमा उल्टै दुश्मन ।

मलाई मीतदेखि घृणा लाग्यो । त्यस घटनादेखि ऊसँग भेटघाट भएको छैन । सोधखोज पनि गरिनँ । साथी बनाउने कुरा फरक हो । मीत भनेपछि परिवारकै अङ्ग हुनुपर्ने हो । तराईतिर मर्दापर्दा सबै काम मीतले गर्ने चलन थियो ।

अघिल्लोपटक पक्राउ पर्दा हुनमानढोकामा २–३ दिन राखेर जेल पठाएका थिए । यसपटक जेल नपठाएर हिरासतमा राखिरहे । जेल चलान गरोस् भन्ने मेरो चाहना थियो । हिरासतमा अप्ठेरो हुन्थ्यो जुन भोगिरहेको थिएँ । जेलमा अलि सहज हुन्थ्यो । हिरासतमा दुःख पाएपछि आत्मसमर्पण गर्छ भनेर जेल नपठाएका हुन् । आस्था र विचारबाट प्रभावित भएर राजनीतिमा लागेको मान्छे । त्यति सजिलै गल्नेवाला थिइनँ ।

एउटै कोठामा दिसापिसाब गर्नुपर्ने । चिसो भुइँ । ओढ्ने–ओछ्याउने कपडा थिएन । जेल नगई त्यसबाट उन्मुक्ति मिल्नेवाला थिएन । आइडिया निकाल्न थालेँ ।

हामीसँगै आर्मीको भगौडालाई चोरी मुद्दामा थुनिएको थियो ।

‘तिमी भाग । म आइडिया सिकाउँछु,’ मैले उसलाई भनेँ ।

ऊ भाग्न तयार भयो । झ्यालमा ग्रिल लगाइएको थियो । ग्रिलको ग्याप बढी थियो । सेटिङ राम्रोसँग मिलेको थिएन । छवटा किला काटेपछि झ्यालको खापा निस्कन्थ्यो । उत्तरतिर स्कुलको कम्पाउन्ड थियो । कम्पाउन्ड राति खुलै हुने भएकाले भाग्न सजिलो हुन्थ्यो । 
‘हेक्साब्लेड मगा,’ मैले भनेँ । 
‘कसरी ?’ उसले भन्यो । 
‘ए मुला । थाहा छैन ? भात ल्याउने मानिसलाई टिफिनको गोलाइभित्र राखेर ल्याउनू भन् । त्यहाँ टाँसिएर टाइट हुन्छ । बीचमा पुलिसले मेसो पाउँदैन,’ उसलाई भनेँ ।
उसले हेक्साब्लेड मगायो । 
‘अब के गर्ने ?’ उसले सोध्यो ।
‘हरेकपटक ट्वाइलेट जाँदा एउटा किल्ला काटेर आउनू ।’
म त राजनीतिक मान्छे भएकाले भाग्न मिलेन । उसलाई मेरो भित्री उद्देश्य बताएको थिइनँ ।
त्यहीबेला भारतमा बेचिएका ४० जना चेलीलाई अड्डासार गर्दै हनुमानढोका ल्याएर राखियो । 
‘ल आजै हो मौका,’ उसलाई उक्साएँ ।
प्रहरीहरू ती महिलासँग हाँस्न–बोल्न पाउँदा मक्ख थिए । त्यतै अलमलिन थाले । त्यही मौकाको फाइदा उठाएर त्यो मान्छे राति १० बजे भाग्यो ।
खैलाबैला भइहाल्यो । प्रहरीहरू सतर्क भए । 
‘सबलाई हत्कडी लगाएर राख्नुपर्छ,’ एउटा प्रहरीले भन्यो । 
‘हामी हत्कडी लगाउँदैनौं । जहाँ लगेर राख्ने हो, राख,’ प्रतिवाद ग¥यौं ।
हत्कडी लगाएर हनुमानढोकादेखि जेल लैजाने कुरा भयो । 
‘केको हत्कडी लगाएर लाने ? मर्न तयार छु, बरु हत्कडी लगाउँदिनँ,’ मैले अड्डी कसेँ । 
‘त्यसो भए ट्याक्सी खर्च तिर्नुपर्छ ।’ 
‘तिर्न तयार छु ।’ 
नृपेन्द्र मास्केलगायत ११ जनालाई जेल चलान गरियो । त्यसबेला हनुमानढोकामा ९६ दिन बसेँ । त्यो मानिसलाई नभगाएको भए अझ् धेरै दिन हिरासतमा बस्नुपथ्र्यो ।

जेलमा विजयकुमार गच्छदार पनि थिए । विराटनगरमा फणीन्द्र तिमल्सिनालाई मारेको अभियोग थियो उनीमाथि । उनी बिहान–बिहान कुस्ती खेल्दा रहेछन् । गच्छदार भनेपछि जेलका अरू बन्दी डराउँथे । हाम्रो टिममा उनीसँग म कुस्ती खेल्ने सल्लाह भयो ।

म कुस्ती खेल्ने, साथीहरू छेउमा बसेर हेर्ने, प¥यो भने सबै जाइलाग्ने । सल्लाह गरेर तयारीका साथ बस्यौं तर गच्छदार कोठाबाट बाहिर निस्केनन् । गच्छदार अग्लो र खाइलाग्दो जीउडालका थिए । साथीहरूको आड भएकाले त्यति बलियासँग कुस्ती खेल्ने आँट ममा पलाएको थियो ।
एक दिन गोलघरभित्र पत्रकार मर्न लागे भन्ने सुनियो । उनी राजविराजका रहेछन् ।

‘परिवर्तनका लागि लागेको भन्छ, विचराको ज्यान नै जाने भयो,’ खस्याकखुसुक सुनियो । उनलाई जसरी पनि गोलघरबाट निकाल्ने सल्लाह गर्न थाल्यौं । हामी गोलघरभित्र जाने र पत्रकारलाई त्यहाँबाट निकाल्ने जुक्ति निकाल्यौं । गोलघरमा रहेकाको र हाम्रो सङ्ख्या बराबर थियो । चार जनाले चारवटा कुनाको कालो भित्तामा कमेरोले पञ्चायती व्यवस्था मुर्दावाद लेखेर ताली ठोक्दै भाषण ग¥यौं । त्यसपछि जेलमा साइरन बज्यो । 
पत्रकारलाई गोलघरबाट निकालियो, हामीलाई हुलियो । गोलघर सुनेका मात्र थियौं । बसेको अनुभव थिएन । साँघुरो ठाउँ रहेछ । कुनामा दिसापिसाब गर्नुपर्ने । आकास पनि थोरै देखिने । खाना त्यहीँ ल्याइदिने । नुहाइधुवाइ गर्न नपाइने । कष्ट हुँदो रहेछ । बेहोरियो । मनोबल उच्च थियो । गल्नेवाला थिएनौं । मोदनाथ प्रश्रित बसेको ठाउँमा परेको थिएँ म । बच्चा लिएर आमा गोलघरको ढोकामा आएको चित्र उहाँले कोर्नुभएको थियो । त्यसको त्यहाँ खुब चर्चा हुन्थ्यो ।

आमनेसामनेको साथीसँग कुरा गर्दै एक साता बित्यो । त्यसपछि अञ्चलाधीश कार्यालय लगियो र सही गर्न भनियो ।
‘तपाईंहरू यतिका दिन बस्नुभयो । दुःख पाउनुभयो । खर्च दिन लागेको,’ एक जनाले भन्यो ।
‘केको खर्च ? हामी लिंदैनौं । सही पनि गर्दैनौं । छाड्ने भए यत्तिकै छाड,’ हामीले भन्यौं । 
हामीलाई छाडियो ।

११ महिना जेल बसेँ । जेलभित्र सबै खालका मानिससँग भेट हुन्थ्यो । प्रहरी प्रशासनले गरेको अन्याय, अत्याचार देख्दा आक्रोश पैदा हुन्थ्यो । एउटा मान्छे आमा मारेको अभियोगमा जेल परेको थियो । तर आमा सधैं छोरा भेट्न आएर रुन्थिन् । अर्को एक जना श्रीमती मारेको अभियोगमा जेलमा थियो । तर त्यसकी पनि श्रीमती आएर रुन्थिन् । उनीहरूलाई झ्ूटा मुद्दामा फसाएर जेल हालिएको थियो ।

हामीलाई दसैंअघि छाडिएको थियो । मिल्ने साथी दिलीप वन्त थिए । आधा दसैं मेरो घर सर्लाही र आधा उनको घर गोर्खामा मनाउने सल्लाह भयो । पहिले गोर्खा गयौं । गोर्खामा नेकपा चौमको राम्रो प्रभाव थियो । बाचस्पति देवकोटा भूमिगत नेता थिए । गोर्खा जाँदा त्यहाँको राजनीतिक अवस्था बुझने अवसर मिल्यो । आत्मीयता झ्न् गाढा भयो ।

त्यतिबेला काठको मूर्ति बनाएर विदेशीलाई बेच्ने चलन थियो । धुवाँ लगाएपछि काठको मूर्ति पुरानो जस्तै देखिन्थ्यो । नयाँभन्दा पुरानोको भाउ धेरै । भर्खर बनाएको मूर्तिलाई झ्ुक्याएर बेच्ने गरिन्थ्यो ।

जेलबाट छुटेर आएको छोरा र साथी भनेपछि बुबा–आमा धेरै खुसी हुनुभयो । साथीको घरमा कुखुरा र खसीबोका टन्नै थिए । हामी गएको खुसीमा घरमा दिनहुँजसो कुखुरा काटियो ।

दसैंको दोस्रो दिन सर्लाही गयौं । मेरो घरमा दसैं मनाएपछि फर्कियौं । तिहारमा काठमाडौंमै देउसीभैली खेल्यौं ।
साथीहरूलाई अप्ठेरो मोर्चामा पठाउँदा १०–२० रुपैयाँ दिइन्थ्यो र पुलिसलाई पैसा दिएर फुत्किन भनिन्थ्यो । पक्राउ नपरे पैसा फिर्ता गर्नुपथ्र्यो । प्रहरीले मागेको २० रुपैयाँ घूस नदिएकै कारण केपी ओली र मोहनचन्द्र अधिकारी जेल परेको थाहा थियो । त्यसैले जोगिनुपर्छ भन्ने मान्यता बनेको थियो ।

जेल पर्दा बालाजु औद्योगिक क्षेत्रमै कार्यरत थिएँ । जेलबाट निस्कँदा जागिर गइसकेको थियो । आन्दोलनमा लागेको भन्दै बालाजु औद्योगिक क्षेत्रबाट साढे तीन सय कर्मचारीलाई बर्खास्तगी गरिएको थियो । त्यसमा म पनि परेको थिएँ ।

काठमाडौंमा काम नगरी बाँच्ने कुरा भएन । पाटन औद्योगिक क्षेत्रमा रहेको नेको इन्को कम्पनीमा काम गर्न थालेँ । पछि नेपाल बेट्री, बालाजुमा काम गरेँ । तर सरकारको दबाबका कारण करार अवधि थपिएन । जागिर छाड्दा कम्पनीबाट एकमुष्ठ ३ हजार रुपैयाँ बुझ्ेको थिएँ । मसँगै निकालिएका पूर्णबहादुरले एक वर्षका लागि भनेर त्यो रकम सापटी मागे । पसल गर्न भनेर दिएको त्यो सापट कहिल्यै फिर्ता भएन ।

(नेपालयले हालै प्रकाशन गरेको एमाले नेता लालबाबु पण्डितको संस्मरण पुस्तक ‘सिंहदरबार बदल्ने संघर्ष’को एक अंश)

ताजा खबर