ललितपुरमा आकस्मिक विपद्पर्दा आश्रय दिने भवन

२०७७ मङ्सिर २० शनिबार ११:००:०० मा प्रकाशित

– ललितपुर महानगरपालिकामा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ । अन्तराष्ट्रिय आप्रवासन सङगठन (आइओएम) नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाईल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा उद्घाटन गरेका थिए । 


कार्यक्रममा प्रमुख महर्जनले घनाबस्तीका जनतालाई आकस्मिक विपद् पर्दा सो केन्द्र भवनले आश्रयस्थल दिने भनाइ राखे । राजदूत भोरासफले ६ वर्षअघि भूकम्पका कारण घर भत्किएर खुला चौरमा बस्न बाध्य भएका जनतालाई ध्यानमा राखी भवन निर्माणमा सहयोग गरेको बताए । 


आइओएमका प्रतिनिधि लोरिना ल्याण्डोले कठिन समयका कारण बाध्यात्मकरुपमा बसाइँसराइ गर्नुपर्ने मानिसलाई सो भवनले अभिभावकको रुपमा सहारा दिने धारणा व्यक्त गरिन् । 


करिब १३ रोपनी सार्वजनिक जग्गाभित्र निर्माण भएको सो भवनका लागि आवश्यक खानेपानी, बत्ती र सरसफाइको सम्पूर्ण जिम्मा वडाले लिने वडाध्यक्ष अम्बिराज शाक्यले बताए । भवन निर्माणका लागि एक करोड तीन लाख ९२ हजार नौ सय १२ रूपैयाँ खर्च भएको छ ।
 

ताजा खबर