साला जिन्दगी !

२०७७ भदौ २ मंगलबार ११:३४:०० मा प्रकाशित

न चाबी भयो- न ताला, साला जिन्दगी।

न सियो भयो- न भाला, साला जिन्दगी।।

न यात्रा झेल्न सक्छ, न ढल निकास,

न बाटो भयो- न नाला, साला जिन्दगी।

न जोखेर बेच्नु , न त पकाइ खानु,

न मासु भयो- न छाला, साला जिन्दगी।

न वासना आउँछ, न घाँटी सजिन्छ,

न फूल भयो- न माला, साला जिन्दगी।

घोटे पनि सीप, कला घोप्ट्याए पनि,

न चुरो भयो- न बाला, साला जिन्दगी।

न त हान्न मिल्छ, न त थाप्नै सकिन्छ,

न झापट् भयो-न गाला,साला जिन्दगी।

मज्जाले मताउने, न मात्तै नमात्ने,

न शुरा भयो- न प्याला, साला जिन्दगी।

ताजा खबर