कोरोना कहर: उपत्यकामा भयावह स्थिति आउनसक्ने चेतावनी

२०७७ भदौ १ सोमबार ०८:१२:०० मा प्रकाशित

 काठमाडौं । यस्तै अवस्था जारी रहे उपत्यकामा कोरोना संक्रमणले भयावह स्थिति ल्याउन सक्ने चेतावनी दिईएको छ । उपत्यकाका तीनै शहरमा दिनदिनै संक्रमित थपिँदै गएको अवस्था हेर्दा बेलैमा सचेत रहन आवश्यक रहेको बताईएको छ । आईतबार हालसम्मकै बढी संक्रमित फेला परेपछि स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएको बताएको हो ।

कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौं उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आईतबार बताएका हुन् । यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन उनले सझाव दिए ।

राजधानी काठमाडौंसँगै देशभर कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

 

ताजा खबर