के फोटोग्राफिक मेमोरी सम्भव छ ?

२०७७ श्रावण २२ बिहीबार ०९:४९:०० मा प्रकाशित

फोटोग्राफिक मेमोरी । एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमता । यस क्षमताका बारेमा अहिले मात्र होइन, उहिलेदेखि नै अनेक अद्भूत प्रसंग उठने गरेको इतिहास छ । तर, फोटोग्राफिक मेमोरी संज्ञानात्मक मनोविज्ञानको क्षेत्रमा एक विवास्पद विषय हो । संसारका कतिपय मानिसहरूले आफूमा यस किसिमको मानसिक क्षमता भएको दाबी गरे तापनि वैज्ञानिक रूपमा यसको पुष्टिचाहिँ भएको छैन । फोटोग्राफिक मेमोरीको सम्बन्धमा सबैभन्दा चर्चित र वैज्ञानिक अध्ययन भएको केस हो, रुसका पत्रकार एसबी सेरेस्वस्कीको स्मरण शक्ति ।

एसबी सेरेस्वस्कीको एक साधारण पत्रकार थिए । उनको आईक्यू पनि सामान्य थियो । तर, उनको स्मरणशक्ति ज्यादै अद्भूत थियो । रिर्पेटिङका लागि उनलाई कागज, कलम तथा टेपरिर्कडर आदिको आवश्यकता पर्दैनथ्यो । उनले सुनेका, पढेका तथा अनुभव गरेका जुनसुकै विषयहरू पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे । उनलाई विदेशी भाषाको कवितासमेत हुबहु याद हुन्थ्यो ।

रुसका प्रसिद्ध स्नायु मनोवैज्ञानिक एआर लुरियाले एसबी सेरेस्वस्की स्मरणशक्तिका बारेमा लामो अध्ययन अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा डा. लुरियाले १४ वर्ष पहिला बताएको निरर्थक शब्दहरूको समूहलाई समेत सेरेस्वस्कीले सही सही बताएको पाए । डा. लुरियाले आफ्नो अध्ययनबाट सेरेस्वस्कीले याद गर्नुपर्ने कुराहरूलाई सम्बद्ध (लिंक) तथा भिज्युअलाइज गरेर याद गर्ने गरेको तथ्य पनि फेला पारे । उनले याद गर्न पर्ने कुराहरूलाई रंगिन बनाएर र एक अर्कोस“ग गा“सेर कल्पना चित्रमा उतार्थे । यो नै अहिले प्रचलित मेमोरी टेक्निक हो ।

हिजो मात्र होइन, आज पनि यस संसारमा यस्तो तीक्ष्ण स्मरणशक्ति भएका मानिसहरू थुप्रै छन् । कालीकोटका युवा विद्यार्थी विजय शाही उनको यस्तै अद्भूत स्मरणशक्तिको कारण अहिले मिडियामा, खासगरी समाजिक सञ्जालमा छाइएका छन् । हुन पनि हजार पृष्ठको कुनै पनि भाषाको किताब १०, १५ मिनेटमा पढेर अघिपछि जताबाट सोधे पनि हुबहु बताउन सक्ने उनको क्षमताले जोकोहीलाई आश्चर्य चकित बनाउन सक्दछ । साथै, प्रश्न पनि उठ्ने गर्दछ । के यस किसिमको फोटोग्राफिक मेमोरी सम्भव छ ?

फोटोग्राफिक मेमोरीको सम्बन्धमा कतिपय कुरा रहस्यमय भए तापनि यस्ता विलक्षण मानिसहरूले मेमोरी टेक्निक प्रयोग गरेर नै शक्तिशाली स्मरणशक्ति बनाएका हुन भन्ने तथ्यचाहि“ सत्य हो । अहिले चर्चा आएका विद्यार्थी विजय शाहीले पनि मेमोरी टेक्निकहरू उपयोग गरेर याद गर्ने गरेको बताउ“दै आएका छन् ।

मेमोरी टेक्निकका बारेमा जानकारी नभएका मानिसहरूलाई यस्तो मेमोरी प्रर्दशनी ‘जादु’जस्तो लाग्ने गर्छ । तर, यो न त जादु हो, न त जन्मिदै पुर्पुरोमा लिएर आएको क्षमता हो । मेमोरी टेक्निक सिक्ने हो भने जोसुकैले पनि अपत्यारिलो क्षमता प्रदर्शन गर्न सक्छन्, सात÷आठ वर्षका बालकालिकाले पनि ।

फोटोग्राफिक मेमोरी रहस्यमय भए तापनि विलक्षण मानिसले मेमोरी टेक्निक प्रयोग गरी अद्भूत स्मरणशक्ति बनाउँछन्

वैदिक कालमा ऋषिमुनिहरू तथा उनका चेलाहरूले वैदिक मेमोरी टेक्निकद्वारा श्लोक तथा पाठहरू याद गर्थे । ५औं शताब्दीतिर ग्रीसमा पनि मेमोरी टेक्निकको खुब चर्चा थियो । तर, बीचमा आएर मेमोरी टेक्निक मृत प्रायः भयो ।
अद्भूत स्मरणशक्तिका पत्रकार सेरेस्वस्की आवागमनस“गै पुनः मेमोरी टेक्निकले चर्चा पायो । मेमोरिस्ट हैरी लोरेनको किताब, मेमोरी बुकले मेमोरी टेक्निकलाई संसारभरि फैलायो । अहिले त करोडौं मानिसहरूले मेमोरी टेक्निक सिकेर फाइदा लिइरहेका छन् । हुन पनि मेमोरी टेक्निकले कतिपय अवस्थामा कमाल नै देखाउ“छ ।

तर, मेमोरी टेक्निकका पनि सीमाहरू छन् । हरेक कुराहरू याद गर्न मेमोरी टेक्निकको उपयोग गर्न कठिन हुन्छ । एक सेकेन्डमा एक पृष्ठ पढेर कुनै किताब याद गर्न सकि“दैन । त्यो किनभने कुनै पनि विषय स्मरणका लागि ज्ञानेन्द्रिय (आ“खा, कान, नाक, जिब्रो तथा त्वचा)मार्फत विषय मस्तिष्क स्टोर हुन आवश्यक छ । देखेर, सुनेर, पढेर तथा अनुभव गरेर नै सूचना मस्तिष्कमा स्टोर हुन्छन् । र, मस्तिष्कमा स्टोर भएका सूचना नै स्मृतिमा आउने हो ।

समान्यतया औसत मानिसले एक मिनेटमा ३ सय शब्दहरू पढ्न सक्छन् । तर, मेमोरी टेक्निकको स्पिड रिडिङ सिकेका व्यक्तिले एक मिनेटमा १५ सय शब्दहरू पढ्न सक्छन् । कसैकसैले त एक मिनेटमा १०औं हजार शब्दहरू पढ्न सक्ने दाबी गर्छन् ।

डा. पाउल आर सेलेको एउटा चर्चित किताब छ, फोटोरिडिङ । यस किताबमा लेखकले फोटोरिडिङको टेक्निक सिकेर अभ्यास गर्ने हो भने फोटोरिडरले एक मिनेटमा २५ हजार शब्दभन्दा बढी शब्दहरू पढ्न सक्षम हुने दाबी गरेका छन् । यसको मतलब एक पृष्ठ किताब पढ्न १ सेकेन्ड लाग्दछ । १६९ पृष्ठको उनको किताब फोटोरिडिङ पढ्न सिर्फ ३ मिनेट लाग्छ । तर, यस किसिमको पढाइ स्टन्ट देखाउनका लागि उपयुक्त भए पनि यसको व्यावहारिक अर्थ भने खासै छैन । त्यो किनभने पढ्नु भनेको सिर्फ पढ्नु मात्र होइन, बुझ्नु पनि हो ।

फोटोरिडिङ टेक्निकमार्फत पढेका शब्दहरूको निचोडलाई मात्र मस्तिष्कले चित्रका रूपमा स्टोर गर्दछ, शब्द शब्दलाई होइन । शब्द शब्दलाई स्टोर गर्न हरेक शब्दहरू पढ्न (हेर्न) आवश्यक हुन्छ । समान्यतया एक शब्द हेर्न र स्टोर गर्न ०.३ सकेन्ड जति समय लाग्छ । त्यसैले कुनै पनि व्यक्तिले सर्र पाठ हेरेको भरमा १ हजार पृष्ठको किताब १०÷१५ मिनेटमा शब्द शब्द हुबहु याद गर्न सक्ने प्रश्न नै उठ्दैन । सामान्यतया कुनै पनि किताब शब्दशब्द नपढीकन किताब हुबहु याद गर्न सम्भव छैन ।

वैज्ञानिक रूपमा अहिलेसम्म फोटोग्राफिक मेमोरी सत्य साबित नभए तापनि मेमोरीस“ग सम्बन्धित कतिपय किताबको पाना पल्टाउने हो भने फोटोग्राफिक मेमोरीका बारेमा यस्ता हजारौं घटनाहरू उल्लेख पाइन्छ । तर, पत्रकार एसबी सेरेस्वस्कीबाहेक कुनै पनि यस्ता व्यक्तिहरूको स्मरणशक्तिका बारेमा वैज्ञानिक अध्ययनचाहि“ भएको छैन । कतिपय संज्ञानात्मक मनोवैज्ञानिकहरू फोटोग्राफिक मेमोरीको यस कथित क्षमतालाई वाहियात र अफवाहको संज्ञा पनि दिने गर्छन् । त्यसैले, हजार पृष्ठको कुनै पनि भाषाको किताब १०, १५ मिनेटमा पढेर अघिपछि जताबाट सोधे पनि हुबहु बताउन सक्ने क्षमता भएको भनिएका विजय शाहीको स्मरण शक्तिको बारेमा वैज्ञानिक परीक्षण गरेर सत्यतथ्य पत्ता लगाउनु आवश्यक छ । यदि विजय शाहीको स्मरणशक्ति सा“चो ठहरियो भने विजय शाही विश्वका संज्ञानात्मक मनोवैज्ञानिकका लागि अध्ययन अनुसन्धानको विषय बन्नेछन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर