राजाको सपनाको खिचडी
राजा हार्यो । उसको सेनाले लत्तो छोड्यो । राजालाई शत्रुले जंगल लघार्यो ।
अन्धकार, घनघोर बर्षा, हाड छेड्ने ठिहिरो
भोक प्यास, आकुल ब्याकुल
राजा एउटा छाप्रोमा आश्रय लिन गयो ।
बुढी आमै थिईन् त्यहाँ,
भनिन्, “मैले त खाईसकें ।”
उनले अलिकति दाल र चामल दिएर भनिन्,
“तँ को होस्, म चिन्दिन, तर तेरो दुःखी शरीरले शान्ति पाओस,”
“यो आफैं पकाएर खाएस,”
राजा दाउरा खोज्छ, पानीले भिजेको हाँगा छ,
बाल्छ, आँखा रसाउँछन्
जसोतसो पकाउँछ, खिचडी ।
अन्धकारबाट दुई साँढे लड्दै आउँछन्
पातमा सेलाउन राखेको खिचडीमा कुल्चिएर जान्छन् !
राजाको अन्तिम आहारको पनि सर्वनाश !!
राजा धुरुधुरु रुन्छ ।
मिथिलाधीश राजा जनकको गालामा आँशु तरर बग्यो ।
उनि ब्युँझिए !
हेर्छन्, उनी आफ्नै मखमली सिरानीमै निदाएका थिए ।
कस्तो भयानक सपना !
भोलिपल्ट उनले भारदार बोलाए
सपना सुनाए
यसको अर्थको जिज्ञासा राखे
सबैले आफ्नै ढंगले व्याख्या गरे
जनक सन्तुष्ट भएनन्
उनले देशव्यापी आव्हान गरे
अनि आए अष्टाबक्र
अर्थात्, आठ ठाउँमा बाङ्गिएका मान्छे !
उनलाई देखेर राजाका भारदारले नीचतम परिहास गरे
अनि अष्टाबक्र भन्छन्,
“हे राजन्, म त यो बिद्वानहरुको सभा होला भनेर आएको,
तर यो त मासु ब्यापारीहरुको बजार रहेछ !”
राजा सोध्छन्, “तिमी किन यसो भन्छौ पथीक ?”
पथीक भन्छन्, “तिम्रा भारदारहरु मेरो शरीर देखेर त्यसको मोलतोल गर्दैछन् ।”
“उनीहरुले म भित्रको तत्व देखेनन्, जसरी तिमीले देखेनौ राजन्, तिमी पनि त हाँस्दैथियौ नि !”
लाजले भुतुक्क जनकले अष्टाबक्रको पाउ छोए, अनि सोधे, “मेरो सपनाको अर्थ के हो त ?”
आठ ठाउँमा बाङ्गिएका मान्छेको जवाफ थियो–
“तिमीले देखेको सपना थियो, तिमी जसरी बाँचेका छौ, यो पनि एउटा सपना हो ।”
सुन्नेलाई सुनको माला, भन्नेलाई माला न साला
यो कथा कुन रुपमा बुझ्नुभो, कमेन्ट गर्दा कसैको केहि नजाला !
है त ?
(पत्रकार राजेश मिश्रको टिपोट)