अन्योलमा कांग्रेस महाधिवेशन

२०७७ श्रावण ९ शुक्रबार ०९:३५:०० मा प्रकाशित

मुख्य विवाद क्रियाशील सदस्यता नवीकरण

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका लागि थपिएको छ ।

तर पार्टीभित्रको आन्तरिक विवादका कारण आन्तरिक संरचनामा समायोजनको कामले अझै पूर्णता पाउन सकेको छैन । कोरोना संक्रमणको जोखिम, संघीय संरचनाअनुसारको समायोजन, सदस्यता नवीकरणको काममा पार्टीका शीर्ष नेताहरुबीच धेरै कुरा मिल्न सकेको छैन् ।

संघीयताअनुसारका पार्टी संरचना समायोजनका काम पनि कांग्रेसले अगाडि बढाउन सकेको छैन । १३औँ महाधिवेशनदेखि जारी रहेको सदस्यता नवीकरणको विवाद कायमै छ । संगठन समायोजनको समय यही साउन १० गतेसम्मका लागि तोकिएको छ ।

तर, पार्टीमा औपचारिक रूपमा अहिलेसम्म २६ जिल्लामा समायोजन गर्नेमा विवाद छ । २ नम्बर प्रदेशका सबै जिल्लामा समायोजनको काम अगाडि बढ्न सकेको छैन् । नेपाली कांग्रेसका नेता राजन केसीले जसरी पनि महाधिवेशन समयमा हुने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो–‘छिटोमा फागुन र ढिलोमा भदौसम्म महाधिवेशन हुन्छ ।’

आगामी महाधिवेशनमा पनि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । आफू अनकूलको परिस्थिति तयार नहुँदासम्म सभापति देउवा महाधिवेशन गर्न तयार नहुने रणनीतिमा रहनुभएको बताइएको छ । पार्टीको विधानअनुसार विशेष कारण देखाएर एक वर्ष म्याद थपिएको छ । यद्यपि देउवासँगै अझै छ महिना महाधिवेशन लम्ब्याउन सक्ने विकल्प बाँकी नै रहेको छ । संविधानअनुसार पनि अझै छ महिना महाधिवशेनको म्याद थप्न सकिने प्रावधान रहेको छ ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल आगामी फागुनमै महाधिवेशन गर्नुको विकल्प नभएको बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आन्तरिक समायोजनको काम तीव्र गतिमा अगाडि बढेको छ, सदस्यता नवीकरणको कामले कार्यकर्तास्तरमा उत्साह थपिएको छ, कार्यकर्ताको सक्रियताले पनि अब थपिएकै समयभित्र महाधिवेशन हुन्छ ।’ कार्यतालिका नै सार्वजनिक भएर काम अगाडि बढेकाले पनि समयमै महाधिवशेन गर्नुको विकल्प नभएको पौडेलले बताउनुभयो ।

कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको बढी विवाद हुँदै आएको छ । यसअघिको पुरानो सदस्यताको विवाद पनि केन्द्रले मिलाइसकेको छैन । कांग्रेसमा क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि छनोट हुने प्रावधान रहेको छ । सदस्यमा आफ्नो गुटनिकट धेरैलाई पार्न सके महाधिवेशनमा हाबी हुन सक्ने भएकाले पनि नेताहरूबीच आफ्नो गुटकालाई सदस्य बनाउने दौडधुप शुरु भएको छ ।

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद हरेक महाधिवेशनमा मुख्य विवाद बन्ने गरेको छ । महाधिवेशनको मुखमा आफू निकटकालाई मात्र सदस्य दिन खोज्ने प्रवृत्तिका कारण विवाद हुने गरेको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा केन्द्रीय सदस्य मनोनयन, विभागमा सदस्यता थप र मनलाग्दी ढंगबाट क्रियाशील सदस्यता वितरण गर्ने काम गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पदाधिकारीको बैठकले ल्याएको कार्यतालिकालाई केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको हो, आगामी फागुन ७ गते महाधिवेशन हुनुपर्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिअनुरुप नचलाएको बताउँदै आफू तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो । ‘सभापति देउवाको गलत कदमविरुद्ध लड्न तयार छौं, तर तोकिएको मितिमा महाधिवेशन हुन्छ कि हुँदैन शंका छ’ –नेता कोइरालाले भन्नुभयो ।

कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुनुपर्ने हुन्छ । २० फागुन ०७२ मा महाधिवेशन भएपछि गत १९ फागुनमा देउवाको नियमित चारवर्षे कार्यकाल सकिएको थियो । विधानले दिएको विशेष अवस्थामा एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधालाई टेकेर देउवाले पार्टीका सबै तहको कार्यकाल एक वर्ष थप गर्नुभएको थियो ।

तर, थप गरिएको एक वर्षमा पनि महाधिवेशन गर्न देउवा नेतृत्वलाई जटिल हुने अवस्था सृजना भएको देखिन्छ । कुनै पनि बहानामा ७ फागुनसम्म महाधिवेशन गर्नुपर्ने दबाब सभापति देउवामाथि परेको छ । १३औं महाधिवेशनमा कांग्रेसको ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए ।

विवादको कारण ५० हजार क्रियाशील सदस्यले महाधिवशेनमा भाग लिन पाएनन् । महाधिवेशन भएको पाँच वर्ष बितिसक्दा समेत ५० हजार क्रियाशील सदस्यको बारेमा कांग्रेसले अझै निर्णय लिन सकेको छैन ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर