दार्चुलाको परिगाउँमा पहिरोमा आमा—छोरी वेपत्ता

२०७७ श्रावण ५ सोमबार ०९:४४:०० मा प्रकाशित

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिका—६ परिगाउँमा पहिरो जाँदा स्थानीय महिला मानमती ठगुन्ना र बालिका रेवती ठगुन्ना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षती भएको छ । वेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीय सन्तोषसिह ठगुन्नाले जानकारी दिनुभयो । पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ ।

स्थानीयका तीन घर पूर्ण रुपमा क्षती हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ । पाँच परिवारको घर पहिरोको उच्च जोखीममा रहेको ठगुन्नाले बताउनुभयो ।

परिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षति गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । दार्चुलाको नौगाड गाउँपालिकामा वर्सेनि बाढी र पहिरोका कारण धनजनको क्षति हुनुका साथै प्राकृतिक विपद् निम्तिने गरेको छ ।

अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयसंगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली समेत खटिएको अध्यक्ष धामीले बताउनुभयो ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर