ओलीको प्रस्तावले प्रचण्ड संकटमा

२०७७ श्रावण ५ सोमबार ०८:५१:०० मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा पर्नुभएको छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिँदै आउनुभएका प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावप्रति नरम भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित बन्नुभएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषयबाट शुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव सकारात्मक भएको बताइएको थियो ।

तर, आइतबार प्रचण्डले आगामी मंसिरमा अध्यक्ष केपीहर्मा ओलीदे महाधिवेशनको प्रस्ताव गरे पनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको बताउनुभएको छ । प्रचण्डले ओली र आफ्नो बीचमा कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बताउनुभएको हो ।
प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने– ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन, यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ तर शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बताइएको छ । ओली प्रचण्डबीच भएको समझदारीको वरिष्ठ नेता माधवकुमार नेपालले चर्को आलोचना गर्नुभएको थियो ।

पछिल्लो समयमा प्रचण्डलाई साथ दिँदै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डले ओलीसँग कुनै समीकरण नबनेको कुरा स्पष्टीकरण दिनुभएको छ । ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवै जनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले आपत्ति प्रकट गरेपछि प्रचण्डले निवासमै बोलाएर स्पष्टीकरण दिनुभएको हो । खुमलटारमा भएको भेलाले अब स्थायी कमिटीको बैठक कुनै पनि बहानामा रोक्न नहुने निष्कर्ष निकालेको छ ।

त्यसै गरी आइतबारका लागि तय भएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएको छ ।

सचिवालय बैठकपछि प्रधानमन्त्री ओली र प्रचण्ड एकसाथ राष्ट्रिपति विद्यादेवी भण्डारीलाई भेट्न गएपछि भने माधवकुमार नेपाल पक्ष सशंकित बन्न पुगेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आगामी महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।

ओलीलाई पूर्वएमालेकै समूहले साथ नदिएपछि आगामी महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउने नयाँ प्रस्ताव ओलीले अगाडि सारेको ओली निकट एक नेताले बताए । उनले भने– ‘दुई अध्यक्ष मिलेर नै पार्टी एकता भएको हो, अब सहज महाधिवेशनपछि ओलीको सहज बहिर्गमन पनि हुन्छ, प्रचण्डले महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गरेर जाँदा फाइदै हुन्छ ।’

ओलीको प्रस्ताव मान्दा पहिल्लो चरण नेपाल पक्षसँग बनेको समीकरण भत्किने त्रास प्रचण्डलाई छ । ओली र नेपाल दुवैले अविश्वास गरेको अवस्थामा आफ्नो राजनीतिक भविष्य नै संकटमा पर्ने खतरा बुझेकै कारण प्रचण्डले निर्णय लिन नसक्ने बताइएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर