च्याम्पियन्स लिग : नयाँ खेल तालिका सार्वजनिक

२०७७ असार २८ आइतबार ०७:४३:०० मा प्रकाशित

जेनेभा : युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘च्याम्पियन्स लिग’को नयाँ खेल तालिका सार्वजनिक गरिएको छ। युरोपेली फुटबल महासंघ (यूईएफए)ले शुक्रबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार च्याम्पियन्स लिग आगामी अगस्ट ७ मा सुचारु हुनेछ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गत मार्च ११ देखि च्याम्पियन्स लिग स्थगित छ। च्याम्पियन्स लिगमा अब क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुन बाँकी छ। तर, क्वार्टरफाइनलमा पुग्ने चारवटा टोलीको टुंगो लाग्न अझै बाँकी छ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इटालियन सिरिए क्लब एटलान्टा, जर्मन बुन्डेस लिगा क्लब रसेनबल स्पोर्ट लिपजिग र स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिड क्वार्टरफाइनलमा पुगिसकेका छन्। प्रिक्वार्टरफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्ड, एटलान्टाले भ्यालेन्सिया, लिपजिगले टोट्टनहाम र एट्लेटिको म्याड्रिडले लिभरपुललाई हराएका थिए।

प्रिक्वार्टरफाइनलमा स्पेनिस ला लिगा क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीच दोस्रो लेग खेलिन बाँकी छ। नापोलीको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल १–१ गोलको बराबरीमा सकिएको थियो। नयाँ खेल तालिकाअनुसार अब प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल बार्सिलोनाको मैदानमा अगस्ट ७ मा खेलिनेछ।

इटालियन क्लब युभेन्ट्स र फ्रान्सेली क्लब लियोनबीच पनि प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल खेलिन बाँकी छ। यसअघि लियोनको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा इटालियन ‘पावर हाउस’ युभेन्ट्स १–० गोलले पराजित भएको थियो। अब दोस्रो लेग खेल अगस्ट ७ मा युभेन्ट्सको मैदानमा खेलिनेछ।

यसैगरी प्रिमियर लिग क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिखबीचको दोस्रो लेग खेल पनि अगस्ट ७ मै बायर्न म्युनिखको घरेलु मैदानमा खेलिनेछ। यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको प्रिक्वार्टरफाइनलको पहिलो लेग खेलमा चेल्सी ३–० गोलले पराजित भएको थियो।

स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबीच पनि प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल खेलिन बाँकी छ। उक्त खेल पनि म्यानचेस्टर सिटीको घरेलु मैदानमा अगस्ट ७ मा खेलिनेछ। यसअघि रियल म्याड्रिडको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा म्यानचेस्टर सिटी २–१ गोलले विजयी भएको थियो।

यूईएफएले सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार प्रतियोगिताको क्वार्टरफाइनल खेल भने अगस्ट १२ र १५ मा खेलिनेछ। सेमिफाइनल खेल भने अगस्ट १८ र १९ मा खेलाइनेछ। फाइनल खेल अगस्ट २३ मा खेलाइनेछ। क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल भने पोर्चुगलको लिस्बनमा खेलिनेछ।

यसैगरी युरोपा लिगको बाँकी खेलको तालिका पनि सार्वजनिक गरिएको छ। युरोपा लिग भनेको च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो प्रतियोगिता हो। युरोपा लिगको पनि प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल बाँकी छ। दोस्रो लेग खेल अगस्ट ५ र ६ मा हुनेछ। क्वार्टरफाइनल खेल अगस्ट १० र ११, सेमिफाइनल खेल अगस्ट १६ र १७ तथा फाइनल खेल अगस्ट २१ मा खेलाइनेछ।
(अन्नपूर्ण पोष्ट दैनिकबाट)

ताजा खबर