सुन हालसम्मकै उच्च

२०७७ असार २६ शुक्रबार १०:१४:०० मा प्रकाशित

काठमाडौँ। नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपियाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको बजार भाउअनुसार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपियाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला ९१ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपियाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य ९८० रुपियाँ प्रतितोला कायम भएको छ । यो हालसम्मकै उच्च दर हो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔँस एक हजार ८०४ डलर पुगेका आधारमा नेपाली बजारमा उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचित्र धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको र नेपाली मुद्राको तुलनमा डलरको मूल्य पनि बढिरहेकाले आगामी दिनमा सुन अझ महँगिने अनुमान सुन चाँदी व्यवसायीको रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार १ अमेरिकी डलर बराबर ११९ रुपियाँ ७३ पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै दुई हजार डलर नाघ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस दुई हजार डलर पुगेमा नेपाली बजारमा प्रतितोला एक लाख १० हजार रुपियाँभन्दा माथि हुने व्यवसायीहरूको भनाइ छ ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर