जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो, बोक्सीको आरोप लगाउनेलाई तीन वर्ष कैद

२०७७ असार २४ बुधबार ०९:२३:०० मा प्रकाशित

बोक्सीको आरोपमा एक महिलालाई गोबर खुवाई कुटपिट गर्ने धादिङका चार जनालाई उच्च अदालत, पाटनले जनही ३ वर्ष कैद गरी पीडितलाई आरोपित प्रत्येकबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीशहरु टेकनारायण कुँवर र वासुदेव आचार्यको संयुक्त इजलासले आरोपित चार जनालाई जनही तीन वर्ष कैद गरी एक लाख रुपियाँका दरले पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो । यसअघि धादिङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आरोपित सबैलाई सफाइ दिएको थियो ।

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–४ की सेतीमाया लायो मगरलाई २०७५ साल कात्तिक २८ गते चार जना स्थानीयबासी मिलेर बोक्सीको आरोपमा गालामा झापड हानी मुखमा गोबर कोचिदिएको आरोप लागेको थियो ।

ती महिला बस्ने गाउँका धनबहादुर थापा मगर, खोलबहादुर थापा मगर, यमबहादुर थापा मगर र हर्कबहादुर थापा मगरले त्यस बेला ती महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेका कारण कानुनबमोजिम सजाय गर्न माग गरी धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो अदालतले दाबी नपुग्ने उल्लेख गर्दै उनीहरुलाई सफाइ दिएको थियो ।

धादिङ जिल्ला अदालतले सफाइ दिने कार्य नमिलेको उल्लेख गर्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेका थिए । सो अदालतले प्रतिवादीमध्येका चारै जनाले सेती मायालाई बोक्सीको आरोपमा अमानवीय कार्य गरेको विभिन्न प्रमाणबाट पुष्टि भएको ठहर गरी उनीहरु सबैलाई तीन वर्षका दरले कैद गर्ने फैसला गरेको हो ।

फैसला गत माघ १३ गते भए तापनि मंगलबार मात्र फैसलाको पूर्ण पाठ तयार भएको हो । प्रत्येकबाट एक लाख रुपियाँका दरले क्षतिपूर्ति भराई ३० हजार रुपियाँ जरिवाना हुनेसमेत फैसलामा उल्लेख गरिएको छ ।

अदालतले यो फैसला तीन महिनाभित्र कार्यान्वयन गर्न पनि आदेशमा उल्लेख गरिएको छ । सोबमोजिम बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेका ठहर भएका ती चार जनालाई तीन महिनाभित्र पक्राउ गरी थुनामा राख्नुपर्ने कर्तव्य सरकारी पक्षको हो ।

फैसलामा पीडितलाई पुगेको भौतिक, शारीरिक, मानसिक, सामाजिक र भावनात्मक क्षति एवं कसूरदारको आर्थिक स्रोत र अदालतले उपयुक्त ठह¥याएको अन्य कुराको आधारमा पीडितलाई क्षतिपूर्ति तोकिएको उल्लेख गरिएको छ ।

बोक्सीको आरोपमा नेपाललगायत अन्य मुलुकमा अमानवीय ब्यवहार गर्ने प्रचलन अझै पनि कायम रहेको फैसलामा जनाइएको छ । फैसलामा उल्लेख भएअनुसार तान्जानियामा हरेक वर्ष बोक्सीको आरोपमा ६ सय जना जति मानिस मारिने गरिएको छ । सन् २००५ देखि सन् २०११ सम्म बोक्सीको आरोपमा राता आँखा भएका ३ हजारजतिलाई सो देशमा हत्या गरिएको फैसलामा जनाइएको छ ।

भारतमा हरेक वर्ष १ सय ५० देखि २ सय व्यक्ति सोही आरोपमा मारिने गरिएको फैसलामा उल्लेख गरिएको छ । जसमध्ये झारखण्डमा मात्रै ५०÷६० जना महिलाले ज्यान गुमाउने गरेको एक अनुसन्धानले देखाएको फैसलामा भनिएको छ । फैसलामा भारतको पूर्वी राज्यहरुमा मात्र सन् २००१ देखि सन् २००६ सम्म ७ सय महिलाले बोक्सीको आरोपमा ज्यान गुमाएको पनि उल्लेख गरिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर