कोभिड-१९ बाट बालबालिकालाई यसरी जोगाउन सकिन्छ

२०७७ असार १८ बिहीबार १०:२३:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लाे समय काेराेनाभाइरस (काेभिड–१९) काे प्रकाेप बढ्दै गएसँगै बालबालिकाहरुमा जाेखिम पनि बढ्दै गएकाे छ । यसले आम अभिभावकहरुलाई चिन्तित बनाएकाे छ । तर, विपदकाे समयमा चिन्तामा डुबेर समय नाेक्सान गर्नु भन्दा सुरक्षाका उपाय अपनाउन उपयुक्त हुने जनस्वास्थयकर्मीहरु बताउँछन् । 

बालबालिकामा जाेखिम कति?

यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे पूरा अध्ययन भइसकेकाे छैन। याे भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि विश्वभरकाे आँकडा हेर्दा बालबालिकाहरूमा तुलनात्मक रुपमा कम संक्रमण पाईएको छ। 

बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने?

कोभिड-१९ को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर यसमा याद राख्नुपर्ने कुरा भनेकाे खोकी र ज्वरोजस्ता सामान्य रुघा-खोकीको लक्षण र कोभिड-१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ।

नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुपर्छ ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस्।

आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै बस्नुपर्छ।

परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने?

आफू वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। आफू कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहीसँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुपर्छ।

बालबालिकालाई विद्यालय जानबाट रोक्नुपर्दछ?

यदि बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ र स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ। अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्गे आराम गराउनुहोस् र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा जानु हुँदैन ।

यदि बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सूचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ।

बालबालिकालाई विद्यालय नपठाएकाे खणेडमा उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउन सकिन्छ, जस्तै: नियमित रुपमा हात धुने (विस्तृत विधि तल हेर्नुहोस्), खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि।

हात धुने उत्तम तरिका के हो?

  • बगिरहेको पानीमा हात भिजाउने,
  • भिजेको हातमा मनग्गे साबुन लगाउने,
  • हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
  • बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
  • सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।

नियमित रुपमा हात धुनुपर्छ – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुपर्छ । हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुपर्छ।

कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ?

कोरोनाभाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार गर्नुपर्दछ।

स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई लाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ। तर भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ।

लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामापनि कोभिड-१९ भएको शंकालागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तर्क्रिया गर्दा अपनाउनुपर्ने हुन्छ।

आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दूध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ। (युनिसेफकाे सहयाेगमा)

 

 

ताजा खबर