बाँके प्रहरीको ‘मस्टवान्टेड’ यादव पक्राउ

२०७७ असार १० बुधबार ०८:१३:०० मा प्रकाशित

बाँके प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखिएका राजेश यादव उर्फ धर्मा सिंहलाई पक्राउ गरेको छ । मंगलबार बिहान तीन बजे यादवलाई वनकट्टीबाट पक्राउ गरिएको हो ।

भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा आबद्ध रहेका यादवविरुद्धमा कम्तीमा नौवटा मुद्दा दर्ता भएको छ । यी मुद्दामध्ये कतिपयमा अदालतले कैद र जरिवाना सुनाएको छ ।

बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर यादवलाई सार्वजनिक गरेको छ । यादवलाई २०७० पुस १३ गते त्रिभुवनप्रसाद कुर्मीले दिएको अपहरण मुद्दामा अदालतले २०७१ फागुन १७ गते चार वर्ष कैद र तीस हजार जरिवाना गरेको थियो ।

२०६८ चैत्र ६ गते गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको मुद्दामा जिल्ला अदालतबाट २०७२ माघ २८ गते ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।

२०६८ मंसिर १४ गते भूमिसुधार कार्यालय, बाँकेमा बम विस्फोट मुद्दामा अदालतबाट २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो । २०६८ मंसिर १४ गते मालपोत कार्यालय, बाँकेमा बम विस्फोट गराएको घटनामा २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो ।
२०६८ माघ ४ गते होलियाका नन्ना यादवलाई गोली हानी हत्या गरेको, २०६५ जेठ २६ गते राजबहादुर सिंहलाई

गोली हानी घाइते बनाएको, २०६६ भदौ २१ गते वसन्त मल्ललाई अपहरण गरी हत्या गरेको, २०६६ मंसिर १७ गते राकेशकुमार लोनिया हतियारसहित पक्राउ पर्दा फरार रहेको, २०६६ मंसिर १ गते राकेशकुमार लोनियासमेतको जाहेरवालालाई अपहरण गर्ने धम्की दिएको मुद्दामा यादव फरार थिए ।

बाँके प्रहरी प्रमुख एसपी ओम रानाले यादव सबै घटनामा प्रत्यक्ष संलग्न भएको बताउनुभयो । यी घटनामा यादवसँग फरकफरक व्यक्ति संलग्न भएका थिए । उनीहरुको खोजी भइरहेको छ ।

यादव भारतमा लुकेर बसेका थिए । केही समययता घरमा पनि आउने गरेको थाहा पाएपछि प्रहरी पुगेको थियो । २०७२ सालयता यादवविरुद्ध कुनै मुद्दा दर्ता भएको छैन ।
(नेपाल समाचापत्र दैनिकबाट)

ताजा खबर