आइतबार लाग्ने सूर्यग्रहण कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म ढाकिएको देखिने

२०७७ असार ६ शनिबार ०९:४९:०० मा प्रकाशित

काठमाडौँ । यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।

लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवम् वाल्मीकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिनुभयो । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।

यो ग्रहण वलय (पूरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उहाँले सुनाउनुभयो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर