बार्सिलोना र मेस्सीको लय

२०७७ असार ५ शुक्रबार ०८:२१:०० मा प्रकाशित

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले कोरोनापछि सुरु भएको स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शन प्रेरित खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको हो । नोउक्याम्पमा बार्सिलोनाको जितमा मेस्सीसँगै युवा स्टार अन्सु फातीले गोल गरे ।

घरेलु टोलीविरुद्ध सुरुवातमा मिगुएल एन्जल गुरेरोले २ मिनेटको अन्तरमा २ अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली लेगानेसले अग्रता लिनबाट चुकेको थियो । १२औं मिनेटमा गुरेरोको प्रहारलाई क्लेमेन्ट लेङलेटले गोललाइनबाट क्लियर गरेका थिए । पेनाल्टी क्षेत्रभित्र लगातार तीन अवसर पाएको लेगानेसले अन्त्यमा गोलरक्षकलाई बिट गरे पनि गोल हुन भने सकेन । त्यसको दुई मिनेटमा नै गुरेरोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । सुरुवातमा दबाब झेलेको बार्सिलोनाले बिस्तारै खेलमा लय समात्दै ४१औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलमा अग्रता लिन सफल भयो । जुनियर फिर्पोको पासलाई पेनाल्टी क्षेत्रको ठीकभित्र रहेका फातीले उत्कृष्ट फिनिस गरे ।

४४औं मिनेटमा सर्जी रोबर्टोको क्रसमा मेस्सीको हेडरले पोस्टको दिशा लिन सकेन । ६४औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै गोललाई मान्यता दिएनन् । त्यसको ४ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर बनायो । लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए । ला लिगामा मेस्सीको यो २१औं गोल हो । ८७औं मिनेटमा आर्टुरो भिडालको थ्रु पासमा रिकी पुजले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई गोलरक्षक क्वेलारले बचाए ।
(राजधानी दैनिकबाट)

ताजा खबर