उनले यसरी कोरोनालाई पराजित गरिन् !

२०७७ बैशाख ६ शनिबार १५:२१:०० मा प्रकाशित

काठमाडौं । कोरोनालाई पराजित गर्दै एक नेपाली युवती घर फर्केकी छिन् ।

केही साता अघि फ्रान्सबाट नेपाल आएकी ती १९ वर्षीया  युवती कोरोना संक्रमणबाट मुक्त भएर २७ दिनपछि घर फर्किन सफल भएकी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जानकारी दिएको छ । उनी शनिबार यो अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि यसको पुष्टि गर्दै सफल उपचारपछि ती युवती घर फर्किएको बताएका छन् । 

ती युवती गत ४ चैतमा फ्रान्सबाट नेपाल आएकी थिइन् । ९ चैतमा उनलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भएको भोलिपल्ट १० चैतदेखि सोही अस्पतालको आइसोलेशनमा राखेर उनको उपचार सुरु गरिएको थियो । उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए । तर उनीहरुमा भने कोरोना संक्रमण भएको देखिएन ।

यो परिणामसँगै नेपालमा दुई जना संक्रमितले कोरोनालाई पराजित गरेका छन् । यसअघि चीनबाट नेपाल आएका पहिलो कोरोना संक्रमित युवा गत माघमा नै निको भएर घर फर्किएका थिए । नेपालमा ३० जनामा कोरोना देखिएको छ । दुई जना उपचारपछि निको भएसँगै २८ जनाको उपचार जारी छ । 

संक्रमित २८ मध्ये १२ जनाको विराटनगरमा, ५ जनाको सेती अस्पतालमा, ४ जनाको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा, ३ जनाको धौलागिरी अस्पताल बाग्लुङमा र एक जनाको टेकु अस्पतालमा उपचार भैरहेको छ ।

 
 

ताजा खबर