म महामानव !
म महामानव !
मैले भनेको मान्ने जति मान्छे
मैले भनेको नमान्ने जति कुमान्छे
म दायाँ फर्किदा दायैँ फर्किने जति मान्छे
मैले आँखा तर्दा अचम्म मान्ने जति कुमान्छे
म सर्वज्ञ हुँ
भन त, म जत्तिको अरु कसले जानेको छ ?
नपत्याए ऊ त्यता हेर त
मेरो उर्दीमा कति धेरै मान्छेहरू सडकमा निस्कदैछन्
मैले जता भन्यो, त्यतै फर्किएका छन्
जताततै ‘भ्या’ ‘भ्या’ सुनिरहेको छु
सुनेनौ ?
तिनलाई अन्यथा देख्ने तिम्रो आँखा खराब
र, मलाई जिद्दी, जिराहा देख्नेहरूको मनै खराब !
मलाई भगवान्को नयाँ अवतार भने पनि हुन्छ
मेरो आदेशमा चल्नुपर्छ विश्व
मेरै खटनमा हिंड्नुपर्छ दुनिया
अन्यथा म रिसाउनेछु
र, म रिसाएँ भने थाहा छ ?
– तिम्रो भाग खोसिनेछ, तिम्रो साख खोसिनेछ
कसैले तिमीलाई थुम्थुम्याउन खोजे
म झारिदिनेछु तिनीहरूको तुजुक
टेर्दैनौ ? हेप्छौ ?
म खुट्टा भाँचिदिनेछु र भन्नेछु – खुच्चिङ् !
अनि तिमीले फेरि देख्नेछौ –
त्यो खुच्चिङ्मा मेरा भक्तजनको ताली
उनीहरूको मीठो आरती
अब आरतीको स्वर, आयाम सबै फेरिनुपर्छ
मलाई पछ्याउनैपर्छ र उराल्नुपर्छ समवेत स्वर
हेर त, त्यो ‘भ्या’ ‘भ्या’ कति सुमधुर सुनिन्छ ?
तिमीलाई थाहा हुनुपर्ने –
मलाई गोयबल्स मन पर्छ
यो मेरो चातुर्य हो, इतिहासप्रतिको सम्मान पनि हो
सबैले त्यसै गर्नू
ठूलो कार्यभार छ हामीमा
पुराना मान्यताहरूलाई जोगाउनु छ
प्रगतिका नाममा दुनियादारी नै फेर्न खोज्ने ?
तिनलाई ठिंगुर्याउनुछ
रित्ता छन् न्यायालय
मजस्तै त्रिकालदर्शीहरूलाई छानीछानी खटाउनु छ
जसले युगयुग हाँक्नेछन् न्यायव्यवस्था
र, अनुमोदन गर्नेछन् मेरा आदेश
यस्तो स्वप्न देख्ने अरुको सामर्थ्य कहाँ ?
म पो देख्छु त
मलाई पो थाहा छ त
अझै ‘कसरी’ भन्छौ ?
म महामानव हुँ, यो मेरो विशेषाधिकार हो
त्यो सडकमा हिंडिरहेको फुच्चेलाई
‘तिमी नाङ्गै छौ’ भन्ने के अधिकार ?
देख्दैनौ – मैले रेशमको मुलायम वस्त्र लगाएको छु
र, यही उपलक्ष्यमा
म मेरो नाम छापेर तिमीलाई उपहार पठाउँदैछु
तिमी मसँग कृतज्ञ हुनैपर्छ
मेरो नाम भएपछि यता उताको कुरै छैन
त्यो मैले नै दिएको हो
सम्झ – मेरै खल्तीबाट दिएको हो
त्यसैले मेरो इज्जत गर्न सिक
मेरो बोलीलाई देववाणी मान
ए बिभिण्डिएका मनुख्खेहरू हो !
मेरो पूजा गर, आरती गर
म प्रसन्न हुनेछु ।