ठूला दलका नेता भनेका एक्सपायर ब्याट्री हुन्

विगत ४ वर्षदेखि वैकल्पिक पार्टी निर्माणमा सक्रिय युवा हुन् मिलन पाण्डे ।  उनी सामाजिक र राजनैतिक अभियन्ताका रुपमा सक्रिय छन् । शिक्षण तथा इन्जिनियरिङ्ग कन्सल्टेन्सी पेशामा संलग्न पाण्डे सिभिल इन्जिनियरिङ्गका विद्यार्थी हुन् । पुराना र ठूला राजनीतिक पार्टीका नेताहरु भनेका उर्जा सकिएको व्याट्री जस्तै हुन् भन्छन् उनी । उनको भनाईमा व्याट्रिमा उसँग जति उर्जा हुन्छ त्यो भन्दा बढि चल्न सक्दैन । राजनीतिक दलका नेताहरु पनि शक्ति हुँदासम्म चल्ने हुन् अब चल्न सक्दैनन् यस्तो समीक्षा छ उनको । काठमाडौं क्षेत्र नं ९ मै जन्मेका, पढेका र बढेका मिलनले स्थानीय संस्कृति तथा सम्पदा संरक्षणमा समेत अहम् भूमिका खेल्दै आएका छन् । प्रतिनिधिसभाको आउने चुनावमा क्षेत्र नम्वर ९ बाट उम्मेदवारी दिएका मिलनसँग सरल पत्रिकाले गरेको यो कुराकानीको सार :

चुनावको तयारी कस्तो चल्दैछ ?

 करिब एक हप्ता अगाडि हामीले पार्टीका तर्फबाट काठमाडौंको ६ वटा क्षेत्रका लागि उम्मेदवारी घोषणा गर्यौं । ती मध्ये म काठमाडौंको क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यको लागि लड्दै छु । म त्यसकै तयारीमा जुटेको छु ।

चुनाव जित्ने सम्भावना कत्तिको  छ

म एकदमै आशावादी छु । हामीले अहिले माहोल राम्रो बनाएका छौं । हामीलाई साथीहरुले साथ दिन्छु भनेर प्रतिवद्धता जनाउनु भएको छ । म फेरी आफ्नै जन्मथलोबाट उठेको हुनाले पनि धेरै आशा गरेको छु ।

तपाईहरुको पार्टीको चुनावी  एजेण्डा के हो नि ?

पार्टीको मुख्य एजेण्डा भनेको सम्मृद्धि नै हो । समतामूलक बिकास नै हो । हामीले त्यसलाई कसरी प्राप्त गर्ने भन्ने कुरामा चाहि पहिला देखि नै भन्दै आएको सुसंस्कृत राजनीति हो । अहिले जसरी राजनीति भइरहेको छ त्यसलाई बदल्नु पर्ने देखिएको छ । अहिले हामी सुसंस्कृत राजनीति मार्फत सम्मृद्धि हासिल गर्न सक्छौं भनेर लागिपरेका छौं । हाम्रो मुख्य एजेण्डा भनेकै सम्मृद्धि नै हो ।

बिद्यार्थी जीवनबाट एक्कासी राजनीतिमा कसरी आउनुभयो ? 

म आमबिद्यार्थी जस्तै आफ्नै पढाईमा राम्रो गरिरहेको बिद्यार्थी थिएँ । मैले जतिबेला आफ्नो भविष्यबारे सोचिरहेको थिएँ त्यतिबेला हाम्रो राजनीतिक माहौलले गर्दा त्यो सम्भव नहुने देखें । म राम्रो पढ्थें तर जब परीक्षा आउँथ्यो त्यसपछि प्रश्नपत्र लिग भयो भन्ने हल्ला हुन्थ्यो । कसले गर्यो भन्दा यो त्यो भातृसंगठनको भनेर सुनिने गरिन्थ्यो । मैले एमबिबिएसको परीक्षा दिँदा पनि यति पैसा खुवाएर तपाईंको नाम निकाल्यो भन्ने सुनिन्थ्यो । त्यसैले मेहनत गरेर मात्र नहुने रहेछ । त्यहाँको वातावरण पनि राम्रो हुनुपर्ने रहेछ । त्यो वातावरण राम्रो बनाउनका लागि मेरो भूमिका के हुनुपर्छ भन्ने पछि बुझ्दै जाँदा म विवेकशील नेपाली भन्ने संगठनमा छिरें । त्यसपछि मैले जे सोचिरहेको थिएँ जे गर्छु भनेर लागिरहेको थिएँ, त्यो बिवेकशील पार्टीले गरिरहेको देखेर म पार्टी आवद्ध भएँ ।

देशमा तीन ठूला पार्टी हँुदाहुदै विवेकशील साझा पार्टी नै किन रोज्नु भयो ? 

एउटै शब्दमा भन्नुपर्दा मैले जे मूल्यमान्यता बोकेर हिडेको थिएँ त्यो बिवेकशील साझा पार्टीको मूल्यमान्यता पनि त्यहि नै छ । यो पार्टीले मलाई प्रतिनिधित्व पनि गर्छ र मैले यो पार्टीलाई प्रतिनिधित्व गर्न सक्छु । कुनै लोभलालचले म पार्टीमा लागेको होइन ।

कस्तो चल्दै छ त चुनाव प्रचार प्रसार ?

चुनाव प्रचार प्रसारको कार्यक्रम बिस्तारै शुरु भएको छ । हिजो मंगलबार मात्र हामीले काठमाडौंको लगनमा बिभिन्न कार्यक्रमहरु गर्यौं । त्यहाँका आमनागरिक, दाजुभाई दिदिबहिनीहरुसँग बस्यौं । छलफलहरु गर्यौं । यसैगरी तयारी तीब्र गतिमा चल्दैछ । यसभन्दा अघि हामीले एउटा हाम्रो घोषणापत्र तयारी गर्ने काम लगभग सक्काएका छौं । त्यसपछि एउटा टिम बिल्डिङ हुँदैछ,त्यो चाहि चुनाव अगाडि हाम्रो टिम कस्तो हुन सक्छ भन्ने अभियान शुरु हुदैछ । यो तिहारपछि प्रचार प्रसारका काम एकदमै आक्रामक रुपमा शुरु हुनेछ ।

अरु पार्टीहरु भन्दा तपाईहरुको पार्टी धेरै खालका अभियानहरुमा लागेको देखिन्छ ? यसले काम पनि गरेको छ कि अभियान चलाउने मात्रै हो ?

हामी एकदमै सफल भएका छौं जसको उदाहरण यो अहिले भैरहेको अन्तर्वार्ता नै हो । ७० वर्षको कांग्रेस त्यहि हारहारीको एमाले अथवा कम्युनिष्टहरु भनौं र चार वर्षको बिवेकशील साझा पार्टी । उहाँहरुले ७० वर्षको अवधिमा जे प्राप्त गर्नु भयो आज हामीले ४ वर्षको अवधिमा उहाँहरुको बिकल्पको रुपमा आएका छौं । मलाई त्यो नै हाम्रो एउटा सफलता हो जस्तो लाग्छ ।

तपाईहरुको पार्टीले काम भन्दा प्रचार बढी गर्छ भन्ने आलोचना भैरहेको छ नि ?

हाम्रो पार्टीले कुरा भन्दा काम नै धेरै गर्छ र पार्टी यहाँसम्म आइपुग्नुको कारण पार्टीको कामले नै हो जस्तो मलाई लाग्छ । हामीले उद्यमशीलता भनेका छौं । हामीले रोजगारी सिर्जना गर्छु भनेका छौं तर त्यसको लागि हामीले बन्दको बिरोध गर्न माइतीघर मण्डला पुगेका छौं । आज हाम्रो नेपाल खुल्ला छ भन्ने अभियानले आज नेपाल बन्द गरिने संस्कार हट्यो । हामी सधंै कामले नै चिनिईरहेका छौं र कामले नै अगाडि बढिरहेका  छौं । हाम्रो नारामा मात्र होइन हाम्रो बोलाई र गराईमा पनि एकता हुन्छ जस्तो लाग्छ ।

 उपत्यका बाहिरका जिल्लाहरुमा चुनाव प्रचार प्रसारको तयारी कस्तो छ त ?

जिल्लामा अहिले हामीले चितवन, लमजुङ, दोलखा, नुवाकोटमा उम्मेदवारहरु उठाएका छौं र अन्य जिल्लाहरुमा पनि आउँदै हुनुहुन्छ । यता साथीहरु गईरहनु भएको छ । जिल्लामा पनि चुनावी माहौल एकदमै चलेको छ । धेरै जिल्लाहरुमा हाम्रो संगठनहरु बनिरहेको भएर अहिले हामीले सबै जिल्लामा चाहि उम्मेदवार उठाउन सक्दैनौं होला किनभने हाम्रो केही प्राविधिक कारण र स्रोतले गर्दा पनि हो । तर जहाँजहाँ उम्मेद्वार छन् त्यहाँ सशक्त रुपमा चुनावी अभियान चलिरहेको छ ।

ठूला र पुराना राजनीतिक पार्टीको भूमिकाको कसरी मूल्यांकन गर्नुहुन्छ ? 

म अहिलेका राजनीतिक पार्टी र नेताहरुलाई उर्जा सकिएको व्याट्रिको रुपमा हेर्छु । व्याट्रिले पनि उसँग जति उर्जा हुन्छ त्यो भन्दा बढि केहीपनि दिन सक्दैन । अहिलेका राजनीतिक दल र नेताहरुले पनि एउटा समयसम्म त गरे नगरेका होइनन् । तर उहाँहरु एउटा अवधिसम्म पुग्नु भयो र त्यो अवधिसम्म पुगिसेकपछि पनि अब यो भन्दा अघि पनि मै लान्छु भनेर अगाडि बढ्नुभयो । अब उहाँहरुसँग १४ वर्ष जेल बसेको अनुभव छ र बाटो म बनाउँछु भन्नुहुन्छ, धारोमा पानी म लिएर आउँछु भन्नुहुन्छ ।

उहाँहरुको त्यो अनुभव त होइन नि । उहाँहरुको अनुभवले लोकतन्त्रसम्म लिएर आयो । मैले मूल्यांकन गर्दा राजनीतिक दलहरुलाई सकिएको व्याट्रि नै भन्छु । अब पनि हामीले राजनीतिक संस्कार र राजनीतिक दलका नेताहरुलाई परिवर्तन गरेनौं भने हाम्रो देश झन बिगार्ने खतरा छ । त्यसैले अब यो व्याट्री परिवर्तन गर्ने बेला आएको छ ।  यही हो मेरो मूल्यांकन । 

 
 
   
  
 
 


 


 

ताजा खबर