मानवताको लकडाउन
मान्छेहरू आफैंले आफैंलाई बन्धक बनाउँदा
सोच्दा हुन् कति गाह्रो त्यो स्वतन्त्रता
लक डाउनभित्र खुम्चिदा
हराएको खुसी कसैको मुठ्ठी भित्र कसिए झै !
चराहरु खुसी छन् रमाई रहेका
र, मुक्त छन् खुल्ला आकाशमा
न त पिँजडाको घेरा न त शिकारीको भय !
निर्दयी मान्छेले रटाएका शब्दहरुको
कर्कश ध्वनिबाट
र, मुक्त बन्धक जीवनबाट !
उसैगरि,
जंगली जनावरहरु औधी खुसी छन्
मान्छेको त्रासबाट मुक्त पर, आफ्नै दुनियाँमा ।
सोच्दा हुन्, दुनियाँ मेरो मुठ्ठीमा छ भन्ने मान्छेहरु
कसरी त्राहि त्राहि भै रहेछन् ?
सुन्दर प्रकृति, खित्का छाडेर हाँसी रहेछ
आफ्नो हिस्सा भन्दा बढी खोज्ने
दोहनकारी मान्छेको आत्तिएको टिठ लाग्दो अनुहार हेरेर !
सिर्जना र शक्तिमा,
बहादुरी देखाउने मान्छे
दुनियाँलाई रिमोट ठानेर थिच्न खोज्दा
आफैं पिँजडामा पर्नुका
अकल्पनीय दुर्दशा र पिडामा छ ।
बिचरा मान्छे न त छेक्न सक्छ, न पन्छाउन नै !
यतिबेला आफ्नै च्यूत मानवीय संवेगको मृगतृष्णामा छटपटिएर
प्रकृतिसँग आफ्नै जीवन मागिरहेछ
लकडाउनमा आफ्नै अस्तित्व खोजीरहेछ ।