बजारमा आयो यज्ञशको ‘भुइयाँ’
काठमाडौं, १९ भदौ । पत्रकार यज्ञशको नयाँ कृति ‘भुइयाँ’ बजारमा आएको छ ।
आईतबार लेखक कुमार नगरकोटी र राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले संयुक्त रुपमा ‘भुइयाँ’ सार्वजनिक गरेका थिए।
पुस्तक बिमोचन कार्यक्रममा लेखक नगरकोटीले यज्ञशले आफूलाई ‘सरप्राइज’ दिएको बताए । ‘पहिले यज्ञशजीले पुस्तक लेख्दै छु भन्दा आख्यान लेख्दै हुनुहुन्छ भन्ने सोचेको थिएँ तर उहाँले मलाई सरप्राइज दिनुभयो, नन–फिक्सन लेखेर’, नगरकोटीले भने ।
राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले ‘भुइयाँ’ राजनीतिक, सामाजिक तथा आर्थिक हिसाबले पछि परेका तराईका जमिनहिनहरुको वास्तविक कथा भएको बताइन् । उनले पुस्तकको धेरै ठाउँमा आफैंलाई पाएको कुरा व्यक्त गरिन । जमिन खोसिएका र नभएकाहरु ७० हजार रुपैयाँ नहुँदा कसरी सुकुम्बासी भएका छन्, यो पुस्तकमा छ । उनले भनिन, सामाजिक न्याय खोज्नेहरुका लागि यो पुस्तक गतिलो दस्तावेज हो ।
यस्तै लेखक यज्ञशले ‘भुइयाँ’ सामान्य व्यक्तिहरुका यथार्थ तर अपत्यारिला दैनिक जीवनका वास्तविक कथालाई आफूले पुस्तकको आकार दिएको स्पष्ट पारे ।
प्रकाशक तथा फाइन प्रिन्टका अजित बरालले गैर आख्यान लेखनको कमी रहेको उल्लेख गर्दै भुइयाँले नेपाली समाजलाई अझ् मानवीय बनाउन सहयोग पुर्याउउने विश्वास व्यक्त गरे।