बन्दै बाहिरी चक्रपथ, जग्गा अधिग्रहण सुरु 

२०७४ असार २ शुक्रबार ११:२३:०० मा प्रकाशित

काठमाडौं, २ असार । काठमाडौंमा बन्ने बाहिरी चक्रपथको पहिलो खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । आधुनिक र सुविधासम्पन्न चक्रपथ निर्माण त्योसँगै विकसित घडेरी विकास गरी जग्गा फिर्ता गर्ने गरी अधिग्रहण प्रक्रिया सुरु भएको हो । यही कारण यो जग्गा प्राप्तिको प्रक्रियामा सरकारले कुनै रकम खर्चिने छैन । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको बाहिरी चक्रपथ आयोजनाले जग्गा अधिग्रहणका लागि चन्द्रगिरी र दक्षिणकली नगरपालिकामा सूचना टाँसेको छ ।

चोभारदेखि भत्केकोपाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्म पहिचान भएका जग्गाको अधिग्रहण थाल्न प्रक्रिया सुरु भएको हो । ३ दिनसम्म चक्रपथमा जग्गा परेका स्थानीयको गुनासो सुनुवाई गरिनेछ । आइतबार कित्ता खोलेर जग्गा अधिग्रहणको विवाद टुंगिएको रिपोर्ट आयोजनाले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेपछि प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गर्ने तयारी गरिएको छ । त्यसको १५ दिनभित्र अधिग्रहणको प्रक्रिया टुंगिएर यो खण्डमा पर्ने सबै जग्गा सरकारको नाममा आउनेछ । बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ ।

चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अधिग्रहणपछि यो खण्डमा ७ हजार ८ सय रोपनी जग्गा सरकारको नाममा आउनेछ । सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ ।

काठमाडौंमा ३५ दशमलव ८ किमी, ललितपुरमा १५ दशमलव ८० किमी र भक्तपुरमा २१ दशमलव ०५ किमी रहने गरी चक्रपथ निर्माण गरिनेछ । ७२ किमीको लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले ७२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउन समझदारी जनाईसकेको छ । थप लगानी नेपाल सरकारले गर्ने योजना छ । बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्र्याकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुने भएको छ । 

ताजा खबर