फिनएयर नेपाल आउने, युरोप जानेलाई नयाँ विकल्प
काठमाडौं, ४ असार । युरोपेली राष्ट्र फिनल्याण्डको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी फिनएयरले नेपालमा सिधा हवाइ उडान गर्ने भएको छ ।
यसका लागि सो कम्पनीले औपचारिक प्रक्रिया अघि बढाएको बुझिएको छ ।
एसियाली देशमा बजार बिस्तार गर्ने रणनीतिमा रहेको फिनएयरले नेपाली बजारलाई लक्षित गर्दै सिधा उडान गर्न लागेको थाहा भएको छ।
युरोपको एयरलायन्सले नेपालमा सिधा उडान सुरु गरेमा नेपाली आकाश असुरक्षित छ भनी लगाईएको कालो सूचीको प्रतिवन्ध हट्ने सम्भावना रहेको जानकार सूत्रले बताएको छ ।
युरोपियन युनियनले नेपालको आकाश असुरक्षित छ भन्दै पछिल्लो छ वर्षदेखि नेपालको राष्ट्रिय ध्वजाबाहक जहाजलाई युरोप प्रवेशमा प्रतिबन्ध लगाइरहेको छ । यस्तोमा फिनएयर नेपाल आएमा नेपाली आकाश सुरक्षित रहेको पुष्टी हुने बताइन्छ ।
त्यस्तै आगामी महिनाबाट युरोपियन युनियनको अध्यक्षता फिनल्याण्डले पाउने भएकाले पनि उक्त प्रतिबन्ध फुकुवा गर्न सजिलो हुने बताइन्छ ।
फिनएयर पछिल्लो समय युरोपेली बजारमा लोकप्रिय हुँदै गएको बताईन्छ । फिनएयरले हाल १ सय वटा युरोपेली गन्तव्य, २० वटा एसियाली गन्तव्य र ७ वटा उत्तर अमेरिकी गन्तव्यमा उडान भर्दै आएको छ ।
सन् २०१७ मा १ करोड २० लाख यात्रुलाई सेवा दिएको यस एयरलायन्समा फिनल्याण्ड सरकारको ५५.८ प्रतिशत शेयर रहेको छ । फिनल्याण्डको राजधानी हेलसिन्कीबाट उडान भर्ने यो एयरलायन्समा करिब ६ हजार कर्मचारी कार्यरत छन् ।
सुरक्षाको मामलामा उत्तिकै संवेदनशिल मानिए फिनएयरलाई सन् २०१८ मा विश्वकै सबैभन्दा सुरक्षित एयरलायन्स घोषणा गरिएको थियो । सन् १९६३ देखि हालसम्म फिनएयरको कुनै प्रकारको दुर्घटना पनि नभएको बताइन्छ ।
विभिन्न युरोपेली गन्तव्यमा पुगेको यस एयरलायन्सले नेपालमा उडान भर्दा नेपाली यात्रुहरुलाई युरोप पुग्न थप विकल्प प्राप्त हुने भएको छ । हालसम्म टर्कीस एयरलायन्सले नेपालबाट युरोप जाने सबैभन्दा धेरै यात्रु बोक्ने गरेको छ । त्यसबाहेक खाडी मुलुकका कतार एयरवेज, इमिरेट्स र इत्तिहाद एयरवेजले नेपालबाट युरोप जाने यात्रुलाई सेवा दिइरहेका छन् ।
एसियाली गन्तव्यमा उडान थप्ने योजनाअनुरुप नेपालमा उडान भर्न चाहेको फिनएयरले काठमाडौं स्थित फिनल्याण्डको दुतावास मार्फत् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको थाहा भएको छ ।
मन्त्रालयले उक्त प्रस्तावलाई नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम (नेवानि) मा सुझावको लागि पठाइसकेको बताइएको छ । कागजी प्रक्रिया पुरा भएपछि सरकारी स्तरमा नेपाल र फिनल्याण्डले यससम्बन्धी सम्झौता गर्ने तयारी गरेको बताइएको छ ।