भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्रीको मुहारमा कहाँबाट आयो चमक

२०७६ बैशाख १२ बिहीबार १६:५१:०० मा प्रकाशित

   काठमाडौं । विसं २०७२  मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए । 

    कतै अलापविलाप,  कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए । सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उद्धार सामग्रीसहित भूकम्पले क्षति पु¥याएका क्षेत्रमा पुगेर उद्धारमा खटिएका थिए तर अहिले त्यो बेलाको चित्कार भुल्दै देश पुनःनिर्माणको महाअभियानमा जुटेको छ ।  

    सरकार पनि भूकम्पबाट लागेको घाउमा मलम लगाउने प्रयासमा जुटिरहेको छ । पुरातात्विक महत्वका संरचना अहिले उठ्ने क्रममा छन् । यस्तैमध्येको एक संरचना काठमाडौंको त्रिपुरेश्वरमा रहेको ललितत्रिपुरासुन्दरी मन्दिर पनि हो । राजा रणबहादुर शाहकी  पाँचौं श्रीमती ललितत्रिपुरासुन्दरीले उनको स्मृतिमा बनाएको मन्दिर भूकम्पले क्षतविक्षत बनाएको थियो । 

    पुनःनिर्माणका क्रममा रहेको उक्त मौलिक र पुरातात्विक क्षेत्रको सम्पदा क्षेत्रमा शिल्पकारहरु काठमा विभिन्न आकृतिका बुट्टा कुँद्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पुगे । बिहान ११ः१० बजे मन्दिर प्रवेश गरेका उनले २५ मिनेट बिताएर त्यहाँको पुनःनिर्माणको अवस्थाबारे जानकारी लिए ।

    उनलाई काठमाडौँ विश्वविद्यालयका उपकुलपति  प्रा डा रामकण्ठ मकाजु र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको अवस्थाबारे जानकारी गराए। त्यहाँ कोही मजदूर आरा चलाउँदै थिए, कोही काठमा बुट्टा कुँद्दै थिए भने कोही भित्ता उठाउँदै थिए । अधिकांश क्षेत्रमा आधाआधी काम भइसकेको देखिन्थ्यो ।

    पुनःनिर्माणले गति लिएकामा प्रधानमन्त्री ओलीको मुहारमा चमक देखिन्थ्यो । कलाकार तथा मजदूरको कामका गतिविधिबारे चाखपूर्वक अवलोकन गरेका प्रधानमन्त्री ओलीलाई आज नौमती र धिमेबाजा बजाएर स्वागत गरिएको थियो । आजै प्रधानमन्त्री ओलीले काठमाडौँको भूगोलपार्क र वसन्तपुर क्षेत्रको पुनःनिर्माणको अवस्थाबारेमा समेत स्थलगत निरीक्षण गरेका थिए। 

    त्यहाँको पुनःनिर्माण परियोजना निर्देशक लोचन रिजालले भने, “प्रधानमन्त्रीले आज अवस्थाबारे निरीक्षण गर्नुभयो,  उहाँ अर्को पटक आउँदा यो पूरा गर्ने हाम्रो प्रतिबद्धता छ ।”

    पुरातात्विक सम्पदालाई विश्वविद्यालयमार्फत अनुसन्धान र प्रयोगमा ल्याई शिक्षा दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले पुनःनिर्माणको अगुवाइ गरिरहेको छ ।  “मुख्यतः कला सङ्गीतको दिगो विकास गर्ने नै हो, परम्परागत सीप र ज्ञानलाई प्रयोगमा नल्याउने हो भने यसको महत्व हुँदैनन्, समुदायलाई क्याम्पसमा जोड्न मात्रै खोजेको हो”, रिजालले भने। 

    यहाँको क्षेत्र भूकम्प अगाडि दुरुपयोग भएको थियो । अहिले परम्परालाई नमासिने गरी सुन्दर उद्यानसहितको पुनःनिर्माणको काम जारी छ । अहिलेसम्म ३० प्रतिशत निर्माण भएको जनाइएको छ । 

    पुनःनिर्माणमा बाजा बनाएर कमाएको रु १९ लाख तथा विश्वविद्यालयको रु दुई करोड छ भने थाई नागरिकबाट सङ्कलन भएको रु १७ करोड नेपाल सरकारमार्फत आएको छ । “सरकारलाई ठूलो धन्यवाद किन दिनुपर्छ भने ज्ञान र यहाँको मूर्त संरचनालाई जोडेर नयाँ शिक्षा र सिकाइ दिन खोजिएको छ”, रिजालले भने।

    झण्डै १५ रोपनी जग्गामा फैलिएको यहाँ नौ रोपनी क्षेत्र शिवको मन्दिर छ । आकर्षक उद्यानसहितको पुनःनिर्माणको काम पाटन दरबार स्क्वायरको डिजाइन गर्ने कलाकार डा रोहित रञ्जितकारको डिजाइनमा काम भइरहेको छ । प्राधिकरणका अनुसार ७७३  सांस्कृतिक सम्पदामध्ये २२४ पुनःनिर्माणको क्रममा रहेको र २१२  पुरानै अवस्थामा फर्किसकेको छ ।  नारायण ढुङ्गाना/रासस  

ताजा खबर