कंगना रनौटले ‘इमली’ मा काम नगर्ने, आफ्नै फिल्म बनाउने तयारी
एजेन्सी । नायिका कंगना रनौट बलिउडमा स्पष्ट वक्ताको रुपमा परिचित छिन् । उनको स्पष्ट बोलीले कतिपय अवस्थामा उनलाई समस्यामा पनि पारेको छ ।
पछिल्लो समय अन्य स्टारहरुमाथी उनको ठाडो आरोपले पनि उनलाई समाचारको हेडलाईनमा ल्याएको थियो ।
पछिल्लो समय ‘पंगा’ र ‘मेन्टल हे क्या’ को शुटिङमा व्यस्त छिन् । पछिल्लो फिल्म ‘मणिकर्णिका’ को अपार सफलतापछि बलिउडमा राम्रो माग रहेकी नायिका कंगनाले चर्चित व्यक्तित्व जयललिताको बायोपिकमा काम गर्न २४ करोड भारु लिएको खबरसँगै उनको चर्चा ह्वात्तै चुलिएको थियो ।
हाल उनले अनुराग बासुको चलचित्र ‘इमली’ मा काम नगर्ने भएपछि उनको चर्चा बलिउडमा चल्न थालेको छ ।
कंगनाले सन् २००६ मा अनुराग बासुको फिल्म ‘ग्याङस्टर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । केहिअघि उनले अनुरागको उक्त फिल्ममा काम गर्ने लगभग पक्का भएको खबर बाहिरिएको थियो ।
यस्तोमा उनले अनुरागसँगको सल्लाह पछि उक्त फिल्म छोडेको थाहा भएको छ ।
यसरी उक्त फिल्म छोड्नुको मुख्य कारण भने कंगना आफैं फिल्म निर्माणमा लाग्न लागेको कारण भएको थाहा भएको छ । आफैंले फिल्म निर्देशन गर्ने भएकोले अनुरागको फिल्मको लागि समय दिन नसक्ने भएपछि ‘इमली’ मा काम नगर्ने मनसाय बनाएको कंगनाले बताइन् ।
साना बजेटको फिल्महरुमा चर्चित रहँदै ठुला बजेको फिल्मसम्म आइसकेकी नायिका कंगनाले निर्देशनमा कस्तो सफलता पाउँछिन्, त्यो पनि छिट्टै देखिने भएको छ ।