श्रीदेवी बन्न चाहन्छिन् विद्या बालान
एजेन्सी । पृथक अभिनयका कारण बलिउडमा पहिचान बनाइ स्थापित बनेकी नायिका विद्या बालानलाई धेरैले साहसी नायिका भन्ने गरेका छन् ।
अब्बल कलाकारिताले आफ्नो करियरमा थुप्रै चलचित्रलाई ‘हिट’ बनाएकी बालानको ठुलो ‘फ्यान फलोइङ’ रहेको छ । बोल्ड चरित्रमा खरो उत्रने नायिका बालानले यसअघि ‘डर्टी पिक्चर’ र ‘इश्किया’ मा निभाएको भुमिकाले उनको चर्चा ह्वात्तै चुलिएको थियो ।
पछिल्लो समय भने उनी आफ्नो इच्छाको विषयमा बोलेर चर्चित भएकी छिन् । उनले आफुलाई श्रीदेवीको रोलमा काम गर्न इच्छा भएको बताएकी छिन् ।
श्रीदेवीको निधन पश्चात उनको जिवनीमा आधारित ‘बायोपिक’ बन्ने हल्ला चलेसँगै बालानले आफुलाई उक्त चरित्रमा काम गर्न मन लागेको अभिव्यक्ति दिएकी हुन् ।
हालसालै एक अन्तर्वार्तामा उनलाई यस बारेमा सोध्दा उनले श्रीदेवीको चरित्रमा खरो उत्रने धेरै नै गाह्रो विषय भएपनि उनलाई श्रद्धान्जली दिनको लागि पनि आफु यस चरित्रमा काम गर्न चाहेको बताएकी छिन् ।