राजनीतिमा कलाको महत्व,यस्तो छ प्रचण्डको व्याख्या 

२०७५ पौष २८ शनिबार २०:३८:०० मा प्रकाशित

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने चर्चा गरेका   छन् ।

शनिबार उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै प्रचण्डले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताउँदै साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उल्लेख गरे। “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” प्रचण्डको भनाई थियो ।

जनताले भोगको दुःख र सुखलाई साहित्यकारुपमा राजनीतिक दलले समेटनु पर्नेमा उनको जोड थियो। नेपालको राजनीतिक आन्दोलन गीत, कविताजस्ता साहित्यबाट हुने गरेको भन्दै उनले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठूलो भूमिका रहेको बताए। 

अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्यलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिए। “मानिसको सोच र आचरण निर्माणमा साहित्यले भित्रैदेखि नै तरङ्गीत पार्ने तथा उक्त तरङ्गले राजनीतिक चेतना ल्याउँछ,” उनले भने।  

समाज कल्याण परिषद्का उपाध्यक्ष निर्मलमणि बरालले साहित्यले समाजको चित्रण गर्दै अग्रगति दिनुपर्ने बताए। कार्यक्रममा गीतकार कृष्णहरि बराल, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इञ्जिनीयरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतले अहिले भइरहेको सामाजिक यथार्थलाई लेखिकाले उपन्यासमा चित्रण गरेको बताए। रासस 

ताजा खबर